त्रिपुरेश्वर धाममा एक महिने श्रावणी बोलबम मेला: धार्मिक आस्था र पर्यटन प्रवर्द्धनमा जोड

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका–७, देउवापारस्थित श्री दुर्गा पाञ्चायन मन्दिर तथा त्रिपुरेश्वर धाममा यस वर्षको श्रावणी बोलबम जलार्पण मेला साउन १३ गते गुरुपूर्णिमादेखि भदौ १२ गते जनैपूर्णिमासम्म भव्य रूपमा सञ्चालन हुने भएको छ।

श्रावणी मेला तथा बोलबम जलार्पण कार्यक्रमलाई व्यवस्थित, सुरक्षित र भव्य बनाउन आइतबार मन्दिर परिसरमा तयारी बैठक सम्पन्न भएको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद पाण्डेको अध्यक्षता तथा सैनामैना–७ का कार्यवाहक वडा अध्यक्ष बालकृष्ण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले मेलाको तयारीलाई अन्तिम रूप दिएको हो।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले त्रिपुरेश्वर धाम पछिल्लो समय धार्मिक आस्थाको केन्द्रका रूपमा विकास भइरहेको उल्लेख गर्दै श्रावण महिनाभर विभिन्न धार्मिक स्थलको दर्शन गर्न जाने भक्तजनलाई यस धाममा समेत दर्शन गर्न आग्रह गर्नुभयो।

विशिष्ट अतिथि तथा वडा सदस्य झुमा काउछाले स्थानीय समुदाय, जनप्रतिनिधि र सरोकारवालाको सहकार्यबाट मेलालाई सफल बनाउन सबै पक्ष सक्रिय हुनुपर्ने बताउनुभयो।

त्यस्तै, मन्दिरका सल्लाहकार रोमनाथ न्यौपाने, कमला अधिकारी र चेतनारायण न्यौपानेले त्रिपुरेश्वर धामलाई धार्मिक पर्यटनसँग जोड्दै यसको दीर्घकालीन विकासका लागि योजनाबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

वरिष्ठ पत्रकार छवि पाण्डेले पछिल्लो समय गाउँ–गाउँमा मन्दिर निर्माण हुने क्रम बढ्दै गएको उल्लेख गर्दै निर्माणसँगै संरक्षण, व्यवस्थापन र धार्मिक गतिविधाको निरन्तरता पनि उत्तिकै आवश्यक रहेको धारणा राख्नुभयो।

बैठकमा धार्मिक तथा सामाजिक अगुवा, विभिन्न संघसंस्थाका प्रतिनिधि, समितिका सल्लाहकार, टोल विकास संस्थाका प्रतिनिधि तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले मेलाको सुरक्षा, सरसफाइ, भक्तजनको सहज आवागमन, पार्किङ व्यवस्थापन, खानेपानी, स्वयंसेवक परिचालन तथा अन्य आवश्यक पूर्वतयारीका विषयमा विस्तृत छलफल गर्दै आवश्यक निर्णय गरेका छन्।

त्रिपुरेश्वर धामको विशाल तथा आकर्षक मन्दिर परिसर, १०८ शिवलिङ्ग, नन्दीको विशाल प्रतिमा तथा अन्य धार्मिक संरचनाले पछिल्लो समय श्रद्धालुहरूको आकर्षण बढाउँदै लगेको छ। श्रावण महिनाभर सैनामैना तथा आसपासका क्षेत्रसँगै पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु लगायत विभिन्न जिल्लाबाट बोलबम भक्तजन आउने अपेक्षा गरिएको छ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद पाण्डेका अनुसार यस वर्षको श्रावणी बोलबम मेलालाई धार्मिक आस्थाको पर्व मात्र नभई स्थानीय धार्मिक पर्यटन प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसरका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। भक्तजनलाई सहज, सुरक्षित र व्यवस्थित सेवा उपलब्ध गराउन आवश्यक सम्पूर्ण तयारी तीव्र गतिमा अघि बढाइएको उहाँले जानकारी दिनुभयो।

कार्यक्रम मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष केपी घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation