
सैनामैना । जननायक बी.पी. कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस सैनामैना नगर समितिद्वारा आयोजना गरिएको अन्तर–माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।
प्रतियोगिता श्रावण ६ गते सुनगाभा माध्यमिक विद्यालयको सभाहलमा बिहान ११ बजेबाट सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सैनामैना नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहनेछ।
कार्यक्रमको तयारी सम्बन्धी जानकारी दिँदै नेपाली कांग्रेस सैनामैना नगर समितिका सचिव अर्जुन पौडेलले प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भएको बताउनुभयो। उहाँले विद्यार्थीहरूमा वक्तृत्व क्षमता विकास गर्ने, बी.पी. कोइरालाको आदर्श र विचारबारे नयाँ पुस्तालाई जानकारी गराउने तथा नेतृत्व विकासमा प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो।
यसै अवसरमा बिहान १० बजे पर्रोहा माध्यमिक विद्यालयको प्राङ्गणमा वृक्षरोपण कार्यक्रम समेत आयोजना गरिएको छ। कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
नेपाली कांग्रेस सैनामैना नगर समितिले कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूमा उपस्थितिका लागि विशेष अपिल समेत गरेको छ।












