नागरिकता दिन एमाले बाधक भयो भनेर गठबन्धनले भ्रम फैलाउन खोज्यो: अध्यक्ष ओली ‌

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता दिने कुरामा आफ्नो पार्टी बाधक भयो भनेर सत्तारूढ गठबन्धनले भ्रम फिँजाउने कोसिस गरिरहेको आरोप लगाउनुभएको छ । विगतमा ६० वर्ष उमेर पुगेकालाई एमालेले मार्छ भनेर भ्रम छरेजस्तै अहिले पनि नागरिकता दिने कुरामा एमाले बाधक बन्यो भनेर भ्रम फैलाउने कोसिस सत्तारूढ दलहरूले गरिरहेको भन्दै अध्यक्ष ओलीले त्यसको खण्डन गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।

आज बिहीवार केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकमा बोल्दै उहाँले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने काम किन अल्झाएर राखेको रु भन्दै सरकारलाई प्रश्नसमेत गर्नुभयो । नेकपा एमाले नागरिकको हरेक समस्या समाधान गर्दै आएको र गर्ने पार्टी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले नागरिकताको समस्या स्थायी रूपमा समाधान गर्न आफ्नो पार्टीले चाहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेकपा एमाले जनताको हरेक समस्या समाधान गर्न चाहन्छ । एमाले नागरिकताको समस्या स्थायी रूपमा समाधान होस् भन्ने चाहन्छ । अनि एमालेकै विरुद्ध अहिले पनि भ्रम फिँजाउन खोज्ने रु पहिले–पहिले जस्तै ६० वर्षभन्दा माथिकालाई एमालेले गोली हानेर मार्छ भनेर गाउँमा कुँदेजस्तै अहिले फेरि अर्को खालको भ्रम फिँजाउन खोज्ने रु त्यस कारण सरकारको काम हो– जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता देऊ । किन अल्झाएर राख्ने ? तर संसदीय प्रक्रिया त हुन्छ नि । अनि संसदीय प्रक्रिया मिच्नका लागि एमाले बाधक भयो भनेर बहाना बनाउने ? त्यस कारण अहिलेको गठबन्धनको यस्ता कपटपूर्ण खालको दुष्प्रचारहरूको हामीले जोडदार खण्डन गर्नुपर्दछ ।’

अध्यक्ष ओलीले आफ्नो पार्टीले आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनाव जित्नैपर्ने दोहोर्‍याउनुभयो । देशको हितको रक्षा र सम्मानका लागि, राष्ट्रियताको रक्षा र संवर्द्धनका लागि, देशको स्वाधीनताको सही ढङ्गले प्रयोग गर्नका लागि एमालेले आउँदो चुनावमा बहुमत ल्याएर सरकार बनाउनुपर्ने उहाँको तर्क थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation