भावी प्रधानमन्त्री किन ओलीलाई घोषणा गर्नुपर्‍यो शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्रीको उम्मेदवार घोषणाको न माग थियो, न तयारी । वैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा ओली स्वयंले पनि त्यसको संकेत गरेका थिएनन् ।

जब समसामयिक प्रस्तावहरु पेश गर्ने बेला भयो, अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीच कानेखुसी भयो । पोडियममा आएका उपमहासचिव प्रदीप ज्ञवालीले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने प्रस्ताव गरे, हलले अनुमोदन गर्‍यो ।

एमालेले हरेक पार्टी सदस्यले ५ भोट जोगाउने र २ भोट थपेर प्रतिनिधिसभामा बहुमत जुटाउने दाबी गरेको छ । एमालेले भनेको जस्तो एकल बहुमत आएको अवस्थामा पार्टी अध्यक्ष ओली स्वाभाविक रुपमा प्रधानमन्त्रीको दाबेदार हुने थिए ।

तर भावी प्रधानमन्त्रीका रुपमै किन घोषणा गर्नुपर्‍यो ? महासचिव पोखरेल भन्छन्, ‘लोकप्रिय नेतालाई घेराबन्दीमा पारेर सत्ताबाट हटाउँदा फेरि जनताले सत्तामा ल्याउँछन् भन्ने सन्देश दिन केपी ओलीलाई फेरि प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेका छौं ।’

पोखरेलले ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटन गर्नुअघि आफू र तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको सम्वाद समेत सुनाए । त्यसबेला आफूले छिटो चुनावमा जाने प्रस्ताव राखेको सुनाउँदै उनले भने, ‘एक कार्यकाल केपी ओली प्रधानमन्त्री, अर्को नयाँ कार्यकाल प्रचण्ड भन्दा पनि तपाईंले भनेको आलोपालो हुन्छ । त्यस अर्थमा कमरेड केपी ओलीकै नेतृत्वमा चुनावमा जाउँ, छिटो जाऊँ ।’

आफूले पार्टी एकता जोगाउन यस्तो प्रस्ताव राखेको भएपनि प्रचण्डले ओली जनतामा अलोकप्रिय भइसकेको भनेर उनको नेतृत्वमा चुनाव जान नमानेको पोखरेलले बताए ।

त्यो प्रचण्डको भ्रम मात्र भएको भन्दै उनले भने, ‘आज प्रचण्डजी मात्र होइन, माधवकुमार नेपालजी र शेरबहादुर देउवाजीले पनि एमालेसँग चुनाव लड्न गठबन्धन बाहेक अर्को बाटो देख्नुभएको छैन । त्यसअर्थमा को लोकप्रिय को अलोकप्रिय भएको जवाफ उहाँहरु स्वयंले दिइसक्नुभएको छ ।’

ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेर आफूहरुले जनताको पक्षमा काम गरेको नेतालाई घेराबन्दी गर्नेहरुलाई जनताको अदालतबाट दण्डित गर्नुपर्छ भन्ने सन्देश दिन चाहेको एमाले महासचिव पोखरेलले बताए । उनले अघि भने, ‘नेतत्वको अभावमा होइन, नेपाली राजनीतिलाई सही बाटोमा डोहोर्‍याउन हो ।’

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation