रुपन्देही । मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसको तर्फबाट सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह रुपन्देही ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदारमा एकल सिफारिस भएका छन् ।
सोही क्षेत्रबाट चुनाव लड्दै आएका शाहलाई प्रत्यक्षमा एकल सिफारिस गरिएको क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानले जानकारी दिए।
समानुपातिकमा ८ जना सिफारिस भएका छन् । समानुपातिकतर्फ डा.अनिता शाह ढुंगाना, देबिप्रसाद शर्मा जैशी, खडानन्द खनाल, कमलप्रकाश भुसाल, गोबिन्द शर्मा चालिसे, डोलबहादुर थापा, डिल्लीप्रसाद ज्ञवाली, यमबहादुर खत्री र योगेन्द चौधरी रहेको उनले जानकारी दिए ।
२०५६ सालमा शाह विजयी भएको यो क्षेत्रमा ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा शाहलाई एमालेका स्वर्गीय नेता रामनाथ ढकालले पराजित गरेका थिए । ०७० को निर्वाचनमा ढकाललाई शाहले झिनो मतले पराजित गरेका थिए । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा एमाले र कांग्रेसको मत बराबर जस्तै छ ।