भारतलाई हराउदै नेपाल समूह बिजेता

काठमाडौं । नेपालले श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा भारतलाई पराजित गरेको छ ।

कोलम्बोको रेस कोर्स ग्राउण्डमा शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३-१ गोल अन्तरले हराएको हो ।

नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले एक एक गोल गरे ।

नेपालले सुरुआती एक गोलको अग्रता उल्टाएर भारतलाई हराएको हो ।

खेलको २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ४५ औं मिनेटमा सरोज दर्लामीले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफमा नेपालले दुई गोल गर्यो ।

खेलको ४९ औं मिनेटमा उनेशले गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ६८ औं मिनेटमा सुवासले गोल गर्दै नेपाललाई ३-१ को जित दिलाए ।

यस जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ ।

नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारत २ खेलमा ३ अंक जोडेर उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोल अन्तरले हराएको थियो । भारतले पनि भुटानलाई ३-० ले हराएको थियो ।  दुबै खेलमा हार व्यहोरेको भुटान बाहिरिसकेको छ ।

प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुईले सेमिफाइनलमा स्थान बनाउने छन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation