विद्यालय हिंडेका बुटवलका ३ बालक मुम्बईमा भेटिए

बुटवल । बुटवल उपमहानगरपालिका–११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, समीर लम्साल र १४ वर्षीय प्रदीप पन्थी शुक्रबार बिहान विद्यालय जान भनी घरबाट हिंडेका थिए । तर उनीहरू त्यस दिन विद्यालय गएनन्, साँझसम्म घर पनि फर्केनन् । विद्यालय हिंडेका उनीहरू परिवारसँग सम्पर्कविहीन भए ।

कसैको पनि सम्पर्कमा नआएपछि उनीहरू अपहरणमा परेको आशंका गरियो । परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिए ।
शनिबार साँझसम्म उनीहरू सम्पर्कमा आएनन् । प्रहरीमा निवेदन परेपछि उनीहरू खोजी सूचीमा परे ।

निवेदनपछि प्रहरीले खोजी सुरु गर्‍यो । अनुसन्धान थाल्यो । तर, सम्पर्कविहीन भएका तीनै जना बालक मुम्बइ पुगेको पत्ता लाग्यो ।
विद्यालय जान्छु भनेर हिंडेका उनीहरू मुम्बइमा आफन्तकोमा भेटिएको रुपन्देही प्रहरीले जनाएको छ ।

बेपत्ता तीनैजना समीर लम्सालको बुबाले रोजगारी गर्ने ठाउँ मुम्बइमा पुगेका र उनीहरू सुरक्षित रहेको सागरका मामा राजु पन्थीले प्रहरीलाई जानकारी दिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बताए ।

उनीहरू आफैं मुम्बई गएका हुन् वा अरु कसैले लगेको हो भन्ने अझै खुलेको छैन, अनुसन्धान भइरहेको छ’, उनले भने ।
तीनजना मध्ये २ जना नवीन औद्योगिक मावि र एकजना नहरपुर माविमा अध्ययनरत विद्यार्थी हुन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation