साफमा भारत बंगलादेशसँग पराजित

काठमाडौं। काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा भारतलाई बंगलादेशले पराजित गरेको छ। समूह ‘ए’ को खेलमा भारतमाथि ३–० गोलको जित निकालेसँगै बंगलादेश समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको छ।

२०१९ मा सेमिफाइनलबाट बाहिरिएको बंगलादेशले पाँच पटकको साफ च्याम्पियन भारतलाई हराउँदै समूह विजेता बनेको हो। बंगलादेशको जितमा मोसाम्मत शोप्नाले दुई गोल गरिन्। उनले खेलको १२ र ५३ मिनेटमा गोल गरेकी थिइन्। यस्तै श्रीमोती के सरकारले २२ मिनेटमा अर्को गोल थपिन्। यस जितसँगै बंगलादेश अपराजित रहँदै अन्तिम चारमा पुगेको छ। समूहको अन्तिम खेलमा पराजित भएको भारत उपविजेता बन्यो।

अब पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता बंगलादेश र समूह ‘बी’ को उपविजेता भुटानबीच खेल हुनेछ। यस्तै अर्को सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता भारत र समूह ‘बी’ को विजेता नेपालबीच खेल हुनेछ। दुवै सेमिफाइनलमा आगामी शुक्रबार हुनेछ। बंगलादेश र भुटान दिउँस एक बजे भिड्नेछन् भने नेपालले भारतको सामना साँझ ५ः३० मा गर्नेछ। यसअघि नेपालले समूह चरणमा भुटानलाई ४–० र श्रीलंकालाई ६० गोलले हराएको थियो। प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation