बुटवलमा बन्ने सिग्नेचर पुलको डिजाइन तयार

बुटवल। बुटवलको तिनाउ नदीमा बन्ने सिग्नेचर पुलको आर्किटेक र स्ट्रक्चर डिजाइन तयार भएको छ । भारतमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय कम्पनी टोटल सिनर्जी कन्सल्टिङले आर्किटेक डिजाइन तयार पारेको छ ।
पुलको स्ट्रक्चर डिजाइन भने स्विस सरकारको स्विस डेभलपमेन्ट कोअपरेशनले गरेको हो । पुलको डिजाइन तयार पारेको नेपाली र विदेशी इन्जिनियरले बुटवलका जनप्रतिनिधिसँग छलफल गरेका छन् ।

सिग्नेचर पुल सामान्य पुलजस्तै मोटरेबल भए पनि नयाँ प्रविधिबाट निर्माण हुने पुल हो । झट्ट देख्दा नेटवर्क आर्क ब्रिजजस्तै देखिने भए पनि यो आर्क ब्रिजभन्दा अझ आकर्षक हुन्छ । मानिसले सिग्नेचर गर्दा जसरी अक्षरलाई घुमाएर बाङ्गोटिङ्गो बनाउँछन् सिग्नेचर ब्रिजको डिजाइन पनि त्यही प्रकृतिको हुन्छ । पुल चार लेनको बन्नेगरी डिजाइन तयार भएको छ । प्रत्येक लेनको बीचमा डिभाइडर रहनेछ । पैदल यात्रुका लागि हिँड्ने फराकिलो फुटपाथ रहने छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले चिनियाँ, भारतीय, स्विस र नेपालका पुल विज्ञसँगको परामर्शमा सिग्नेचर पुलको आर्किटेक र स्ट्रक्चर डिजाइन तयार भइसकेको बताउनुभयो । डिजाइनअनुसार पुल निर्माण प्रक्रिया अघि बढाउन विश्व बैङ्कका प्रतिनिधिसँग छलफल गरेको उहाँले बताउनुभयो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation