म्यादी प्रहरीमा भर्ना हुनेको घुइँचो

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुलाएसँगै आवेदकहरूको घुइँचो लागेको छ।
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरीको माग गरेकोमा आजदेखि आवेदन खुला गरेको हो।

म्यादीमा भर्ना हुन आवेदन दिन आजदेखि हरेक जिल्ला प्रहरी कार्यालयमा ठूलो संख्यामा युवाहरूको भिड लागेको छ। आवेदन दिनेमा डिग्री होल्डरदेखि आमाहरूसम्म छन् ।

सेवा अवधि ४० दिनको हुनेछ। म्यादी प्रहरीमा छानिए प्रतिदिन ८ सय ६९ रूपैयाँको दरले ४० दिन सम्मका लागि निजको व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी दिने गरी जम्मा पारिश्रमिक ३४ हजार ७६० रूपैयाँ प्राप्त हुनेछ।

यस्तै खाद्यान्न बापत प्रति व्यक्ति एकमुष्ट ७ हजार २०० रूपैयाँ हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीको हकमा जिल्लाको न्यूनतम राशन दररेट अनुसारको रकम पाउनेछन् ।

तोकिएको पोशाक तथा अन्य सामान खरिद गर्ने गरी प्रति व्यक्ति ६ हजार रुपैयाँ एकमुष्ट उपलब्ध हुनेछ। हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरूलाई गाढा निलो रंगको कपडाको ज्याकेट खरिद गर्न प्रति व्यक्ति थप १ हजार रुपैयाँ उपलब्ध हुनेछ।

निर्वाचनका क्रममा खटिने म्यादी प्रहरीहरूलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरूप प्रति म्यादी प्रहरी एकमुष्ट १ हजार रुपैयाँका दरले तयारी खर्च उपलब्ध हुनेछ भने ३ सय रुपैयाँको दरले ४ दिनका लागि खाजा खर्च उपलब्ध हुनेछ।

अन्य सुविधा नेपाल सरकारले तोके बमोजिम हुने नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना छनोट शाखाको भनाइ छ।
भदौ ३० गतेदेखि असोज ६ गतेसम्म जिल्ला प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरसँगै सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिनुपर्नेछ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation