रुपन्देहीमा लौरो अभियानका स्वतन्त्र उम्मेदवारको घोषणा

बुटवल । ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ले रुपन्देहीमा उम्मेदवारी घोषणा गरेको छ ।प्रतिनिधि सभा सदस्यतर्फ रुपन्देही–१ म विशाल बास्कोटा,२ मा डा। निकोलस भुसाल, ३ मा प्रख्यात बन्जाडे र ५ मा भीष्म राना लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बन्ने घोषणा भएको हो । बास्कोटा स्वास्थ्यकर्मी, भुसाल मनोरोग चिकित्सक, बन्जाडे अधिवक्ता र राना पूर्व भारतीय सैनिक हुन् ।

यस्तै प्रदेश सभा सदस्यतर्फ रुपन्देही ४ खमा सञ्जयकुमार मिश्रा र ५ कमा कमल ढकालले उम्मेदवारी घोषणा गरेका छन् ।यस्तै कपिलवस्तु क्षेत्र नं। १ प्रतिनिधिसभा सदस्यमा इन्जिनियर देवेन्द्रकुमार शर्मा र प्युठानमा रामचन्द्र केसीले उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनीहरुलाई हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र लौरो अभियानका संयोजक सुमन सायमीले चुनाव चिन्ह लौरो प्रदान गरेका छन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा घिमिरेले सक्षम र योग्य युवाहरुलाई निर्वाचित गरेर देश बनाउने संकल्पसहित लौरो अभियान सुरु भएको भन्दै पुराना दल र नेताहरुबाट समृद्धि र सुशासन सम्भव नहुने बताए ।

प्रतिनिधि सभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारले जितेमा मुलुकलाई आर्थिक बोझ थोपर्ने संरचनाहरु घटाउने या अनावश्यक भए हटाउने बताए । ‘अहिले प्रदेश सरकारहरु, प्रदेश सभाहरु गठबन्धन दलका नेतालाई पद भागबण्डा गर्ने अनुत्पादक थलो बनेका छन्’, घिमिरेले भने, ‘विदेशबाट ऋण लिएर तलब भत्ता खुवाउनुपर्ने यस्ता संरचनालाई पुनःसंरचना गर्ने वा जनताको राय लिएर हटाउने हाम्रो प्राथमिकता हुनेछ ।’

पौने ७ अर्बको लुम्बिनी प्रादेशिक अस्पताल ठेक्कामा डेढ अर्ब रुपैयाँ कमिसन लिएर राज्यलाई नोक्सानी पार्न लागेको थाहा पाएर आफूले ‘दलालको दलाल बन्दिन’ भनेर पदबाट राजीनामा दिएर स्वतन्त्र अभियानमा होमिएको उनले बताए । घिमिरे प्रदेश पूर्वाधार विकास प्राधिकरणको सीईओ थिए ।

रवि लामिछाने र रमेश खरेलको पार्टीसँग चुनावमा एक भएर जान लौरो अभियानले निरन्तर वार्ता गरिरहेको उनले खुलाए । ‘स्वतन्त्र र वैकल्पिक शक्तिहरु एकजुट नभएर परिणाम निकाल्न सकिन्न’, उनले भने, ‘एकजुट नहुने हो भने हामीहरु मध्ये कोही कसैबाट परिचालित भएको ठहर्छ ।’

लौरो अभियानका संयोजक सुमन सायमीले सत्तामा रहेका दलहरुमा गठबन्धनको अहंकार रहेको र दलीय सर्वसत्तावाद लादेको भन्दै नागरिकहरु यसबाट मुक्त भए मात्रै परिवर्तन आउन सक्ने बताए ।

काठमाडौंमा बालेन साहले एक्लै जितेर स्वतन्त्रले राम्रो गर्न सक्छन् भन्ने पुष्टी गरेकाले स्वतन्त्र युवा उम्मेदवारहरु उत्साहित भएको सायमीको दावी छ । ‘पुराना दल र नेताहरुले जे जति गर्नुभो उहाँहरुलाई ससम्मान बिदा गर्ने हो, तिरस्कार हैन’, सायमीले भने, ‘देशको अवस्था बदल्न अब स्वतन्त्र युवालाई अवसर दिनपर्छ ।’

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation