सेना, प्रहरी हातमा लिएर जे पनि गरे हुन्छः ओली

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफ्नो शक्तिको दुरुपयोग गरेर जथाभाबी सेना, प्रहरी परिचालन गरेको आरोप लगाउनुभएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालत फर्किने तयारी थालेपछि सरकारले जबराको निवास र सर्वोच्चमा प्रहरी परिचालन गरेपछि अध्यक्ष ओलीले यस्तो आरोप लगाउनुभएको हो ।

आइतवार आफ्नै निवास बालकोटमा बसेको एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले सरकारले सेना, प्रहरी हातमा लिएर मानिसको घर घेर्न र नजरबन्दमा राख्न नपाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले सत्तामा पुगेर सेना, प्रहरी हातमा लिएर जे पनि गरे हुन्छ ? अब मान्छेको घर घेर्ने । नजरबन्द बनाउने । यस्तो तमासा लोकतन्त्रमा ? अभियोग पुष्टि भएन प्रधानन्यायाधीशले के गर्ने त ? सरकारले पुष्टि गर्नुपर्ने, गरेन । अदालतका कुरा के गर्ने ? स्वतन्त्र न्यायालयको कुरा के गर्ने ? लोकतन्त्रका कुरा के गर्ने ? कानुनी राजका कुरा के गर्ने ?’

अध्यक्ष ओलीले सरकारले गैरजिम्मेवार क्रियाकलाप गरिरहेको भन्दै आफूहरूले त्यसको विरोध गर्ने पनि बताउनुभयो । लोकतान्त्रिक मूल्य, मान्यता र शक्ति पृथकीकरणको सिद्धान्तअनुसार शासन सत्ता चल्नुपर्ने उहाँको भनाइ छ ।

यसैबीच अध्यक्ष ओलीले सत्तापक्षले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगमा सफाइ दिएको टिप्पणी गर्नुभएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation