वडाध्यक्ष सारुले आफ्नै तलबबाट बिद्यालयमा जोडे सिसिटिभि

कपिलवस्तु । गत वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा आफूले सरकारको कुनै तलव नखाई काम गर्ने उद्घोष गरी चुनाव जितेका कपिलवस्तुको बाणगंगाका एक वडा अध्यक्षले आफूलाई आउने तलवबाट विद्यालयमा ‘सीसीटिभी’ क्यामेरा जडान गरेका छन् । वाणगंगा नगरपालिकाको वडा नम्बर १ मा बाट वडा अध्यक्ष जितेका सञ्जु शारुले आफ्नो तलबबाट सोही वडाको एक स्थानीय सिद्धार्थ माध्यमिक बिद्यालयमा सीसीटिभी जडान गरेका हुन् ।

गत जेठमा पदभार ग्रहण गरेका उनले असोज महिनासम्म आइपुग्दा नगरपालिकाबाट कुनै तलव लिएका छैनन् । तलबबाट आउने अहिलेसम्मको ८६ हजार बराबरको रकम उनले सिसिटिभीमा लगानी गरेको बताए ।

सामुदायिक बिद्यालयमा गुणस्तरीय शिक्षासंगै सुरक्षाको पनि उत्तिकै आवश्यकता रहेको बताउँदै उनले भने ‘म जनताको सेवक हुँ । सेवा गर्न आएको हुँ । तलब खान आएको होइन । मेरो कार्यकालभरिको आउने रकम शैक्षिक, मानवीय र सामाजिक काममा खर्च गर्ने छु । यो सुरुवात् हो । यस प्रविधिको उचित सदुपयोग गर्न विद्यालयलाई आग्रह गर्दछु ।’

बिद्यालयका प्रधानाध्यापक इश्वर थापाले वडाध्यक्षको काम अनुकरणीय रहेकोमा धन्यबाद दिँदै चुनावी घोषणालाई वडा अध्यक्षले व्यवहारमा देखाएको बताए । विद्यालयमा क्यामरा जडान गरिदिएकोमा शारुलाई सम्मान गरिएको थियो । बाणगंगामा तलब नखाएर आउने पैसा सामाजिक काममा खर्च गर्छु भन्ने उनी एक्ला वडा अध्यक्ष हुन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation