गठबन्धन सत्तामा पुगेर बाँडीचुँडी खानलाई होः विष्णु पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ५ दलको चुनावी गठबन्धन केवल सत्तामा पुगेर बाँडेर खानका लागि मात्रै भएको बताएका छन् ।

सत्तामा रहेका दलहरुको गठबन्धन कुनै विचार सिद्धान्त मिलेर नभई केवल फेरि सत्तामा पुगेर बाँडेर खाने दाउ मात्रै भएको बताए ।

नेकपा एमाले लुम्बिनी प्रदेश सल्लाहकार परिषदको बुटवलमा आयोजित प्रथम बैठकलाई सम्वोधन गर्दै पौडेलले गठबन्धनले सुशासन र समृद्धि दिन नसक्ने र देशलाई सही मार्गमा लैजान नसक्ने भन्दै एमाले कार्यकर्ताहरुले यी विषयहरु जनतासामु प्रष्ट पार्नुपर्ने बताए ।

‘गठबन्धनसग जनता सामु जाने न विचार छ, न नीति छ, न कार्यक्रम छ’, पौडेलले भने, ‘तर एमालेसँग देशलाई सही नेतृत्व गर्ने विचार, दृष्टिकोण र नीति कार्यक्रम सबै छन् ।’

सत्ता गठबन्धनसँग मुलकको नेतृत्व गर्ने नेतृत्व र त्यसलाई निर्देशित गर्ने साझा घोषणा पत्र समेत नभएकाले जनताले पत्याउने कुनै आधार नभएको उनको दावी छ ।

‘हामीले आगामी सरकारको नेतृत्व पार्टी अध्यक्ष केपी ओलीले गर्ने भनेर टुंगो लगाइसक्यौं’ पौडेलले भने, ‘गठबन्धनलाई सोध्यो भने उनीहरु प्रधानमन्त्रीको नाम समेत प्रस्ताव गर्न सक्ने अवस्थामा छैनन् ।’

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation