एमालेको सरकार नबनेको भए हुलाकी सडक दुई चार दशक बन्ने थिएन्ः ज्ञवाली

कपिलवस्तु । नेकपा एमालेको सरकार नबनेको भए ३ सय किलो मिटर हुलाकी सडक बन्न अझै दुई चार दशक कुर्नु पर्ने हुन्थ्यो भन्दै नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीलले हुलाकी बने सँगै तराईको मुहार फेरिएको दाबी गर्नुभयो ।

मंगलवार कपिलवस्तुको पकडीमा आयोजित विशाल जनसभा तथा पाटी प्रवेश कार्यक्रम समारोहलाई सम्बोधन गर्दै नेता ज्ञवालीले तराई मधेश समृद्धि कार्यक्रम, सिमा क्षेत्र विकास, राजमार्गलाई चौडा पार्ने, राजमार्गदेखि तराईको सदरमुकामका जिल्लालाई ४ लेनको सडकमा विस्तार गर्ने एमाले सरकारले गरेको प्रष्ट्याउनु भयो ।

पुर्व परराष्ट्र मन्त्री समेत भइसक्नु भएका ज्ञवालीले बिगतमा एमाले सरकारले नागरिकता अध्यादेश ल्याएर नागरिकताको समस्या समाधान गर्न खोजेको भएपनि सेटिङमा चल्ने सर्वोच्च अदालतले रोक लगाएको स्मरण गर्दै नेता ज्ञवालीले एमाले नागरिकता समस्याको दिर्घकालिन समाधानको पक्षमा रहेको स्पष्ट पार्नु भयो ।

लोसपाका केन्द्रीय सदस्य मधुसुधन चौधरी सहितका ५ जना केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष कैलाश अग्रहरी सहितको सिंगो जिल्ला कमिटि एवं मातहतका लोसपाका सबै कमिटिलाई एमालेमा समाहित भएको घोषणा गरिएको थियो । सो जनसभामा बोल्दै नव प्रवेशी नेता चौधरीले आफु मधेशको सच्चा कार्यकर्ता भएको र देशको एक मात्र सच्चा पाटी एमाले देखिएकाले आफुहरु सामुहिक रुपमा प्रवेश गरेकोे बताउनुभयो । केहि दिन अघि एमाले प्रवेश गर्नु भएकी निर्वतमान सांसद अमृता अग्रहरीले ३० वर्ष मधेशवादी राजनिति गरेपनि मधेशको मुक्ति एमालेबाट मात्र सम्भव देखेर हजारौं नेता कार्यकर्ता एमाले प्रवेश गरेको तर्क गर्नुभयो ।

नेता दान वहादुर चौधरीले यतिबेला तराई मधेशमा एमालेको लहर देखेर पाँच दलिय गठबन्धन चुनाबबाट डराउदै गरेको बताउनु भयो । यस्तै एमाले प्रवेश पश्चात बोल्दै लोसपाका जिल्ला अध्यक्ष कैलाश अग्रहरीले मधेशबादी दल बास्तवमै भारतका गोटी बनेकाले एमाले प्रवेश गरेर राष्ट्रहित प्रवद्र्धन गर्न आफुहरु तयार भएको स्पष्ट पार्नुभयो ।

एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षता, उपाध्यक्ष विश्राम प्रसाद चौधरीको स्वागत सचिव सिवी गहतराजको सञ्चालनमा भएको कार्यक्रममा लोसपा सहित अन्य पाटीका ३ हजार बढि नेता कार्यकर्तालाई टिका माला लगाएर स्वागतका साथ एमाले प्रवेश गराईएको थियो । समारोहमा एमालेका नेता पशुपति दयाल मिश्र, मंगल प्रसाद गुप्ता लगायतले सम्बोधन गर्नुभएको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation