चाडपर्वका बेला सीमा नाकालाई व्यवस्थित गर्न रुपन्देहीका व्यवसायीको माग

बुटवल । उद्योग व्यापार संगठन, रुपन्देहीले विशेष गरी चाडपर्वलाई मध्यनजर गर्दै सीमा नाका बेलहिया लगायत अन्य सीमा नाकालाई व्यवस्थित र कडाइ गर्नुपर्ने माग गरेको छ । संगठनले मंगलबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।

त्यस्तै न्यूनतम रु। १ हजार भन्दा माथिको सामान ल्याउँदा अनिवार्य भन्सार गराउनुपर्ने, खुला सीमा लगायत भन्सार नाकामा सीसीटिभी क्यामेरा चौबीसै घण्टा चालु अवस्थामा राख्नुपर्ने तथा सीमा नाकामा एकतर्फबाट जाने र एकतर्फबाट आउने व्यवस्था गर्नुपर्ने संगठनले माग गरेको छ । त्यसै गरी घरायसी सामानको एकद्वार प्रणालीमार्फत छिटो र सहज तरिकाले भन्सार प्रज्ञापनपत्र भरी ल्याउने व्यवस्था मिलाउनुपर्ने, भारतीय बजारबाट प्रवेश गर्दा ल्याइएको सामानको अनिवार्य रुपमा चेकजाँच गराउनुपर्ने र भारतबाट ल्याइएका सबै सामानहरुको (भन्सार गरेका र नगरेका) अभिलेख राख्नुपर्ने संगठनको माग छ ।

विवाह, व्रतबन्ध, चाडपर्व लगायत अनेक बहानामा सीमा पारी गएर सामान ल्याउनेको लर्को नै लाग्ने गरेको उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । उनले भने, ‘यहाँका व्यवसायीलाई दिनभरी पसल कुर्न मात्र भएको छ भने सीमा पारी सुनौली बजारमा सामान किन्नेको जात्रा जस्तै छ, त्यसैले गर्दा यहाँको व्यापार व्यवसाय पनि सञ्चालन गर्नका लागि वातावरण सिर्जना गर्न आवश्यक छ, नत्र उद्योगी व्यवसायीहरुले सम्पूर्ण कारोबार बन्द गर्ने अवस्था सिर्जना हुन्छ ।’

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले संगठनको मागलाई सकारात्मक रुपमा लिनुभएको संगठनका महासचिव सचिन रोक्काले बताए । महासचिव रोक्काका अनुसार प्रजिअ पाण्डेले उपभोक्तालाई सीमा पारी जान नदिन व्यवसायीले स्वदेशी बजारमा सस्तो मूल्यमा सामान पाइन्छ भन्ने सन्देश दिनुपर्ने बताएका थिए । चाडपर्वका नाममा कालोबजारी गर्न नहुने प्रजिअ पाण्डेको भनाइ थियो । ज्ञापनपत्र बुझाउन संगठनका अध्यक्ष ज्ञवाली, वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठ, उपाध्यक्ष रामचन्द्र रेग्मी, कृष्ण बहादुर गुरुङ, महासचिव सचिन रोक्का र कोषाध्यक्ष राम मिलन यादव जिल्ला प्रशासन कार्यालय रुपन्देही पुगेका थिए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation