बारा बस दुर्घटनामाः ज्यान गुमाएका १६ मध्ये १५ जनाको सनाखत

बारा – जीतपुर सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा ज्यान गुमाएका १६ जनामध्ये १५ जनाको सनाखत भएको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका १२ जना, चुरेहिल अस्पतालमा दुई जना, सहकारी अस्पतालमा एक जना र भरतपुर लैजाने क्रममा एक जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा बारा–कलैया उपमहानगरपालिकाका लीलाराज चौरसिया, चितवन खैरहनी नगरपालिका–५ की नन्दकुमारी पुडासैनी, चितवन कालिका नगरपालिकाका १५ वर्षीय सफल कँडेल, चितवन खैरहनी–५ का मनोरथ पुडासैनी, बाराका ५५ वर्षीय राम आश्रय राय, पर्सा– १६ की मुन्ननी देवि चौरसिया रहेका छन् । यस्तै हेटौँडा–७ की शुभलक्ष्मी श्रेष्ठ, २० वर्षीया स्वस्तिका श्रेष्ठ, बारा–कलैया–१० का नगरिन खातुन, बारा–अमलेखगञ्जका सुरेश विक, बारा–कलैया का इन्ताज अन्सारी, ओखलढुङ्गाका लालबहादुर बोगटी, गोर्खाका अम्बिका कँडेल र पर्सा–१६ का सकेमप्रसाद चौरसिया रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बसमा ५२ जना चढेका खुलेको ट्राफिक प्रहरी कार्यालय मवानपुरका प्रहरी निरीक्षक मुनेन्द्र थापाले जनाउनुभयो । घाइतेमध्ये २१ जनालाई उपचारका लागि चितवन, आठ जनालाई वीरगञ्ज र पाँच जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । चार जना भारतीय नागरिकलाई आफन्तले भारतमा नै लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation