अविरल बर्षाका कारण गुल्मीमा विद्युत सेवा सहित दर्जनौ सडक खण्ड प्रभावित

गुल्मी । अबिरल बर्षाका कारण गुल्मीका बिभिन्न ठाउँमा जनधनको क्षती सँगै विद्युत सेवा समेत बन्द हुन पुगेको विद्युत प्राधिकरण गुल्मी शाखाले जनाएको छ ।

यस्तै निरन्तरको बर्षातले जिल्लाका विभिन्न सडक खण्ड समेत पुर्ण रुपमा प्रभावित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जस अनुसार अबिरल बर्षाका कारण गुल्मीको पल्लिकोट हुँगा सत्यवती गाउँपालिकाको बिभिन्न वडामा लामो समय देखि बिद्युत सेवा ठप्प छ । धुर्कोट गाउँपालिका ५ वस्तु टुनिचौरकी ४१ बर्षिय लक्ष्मी कुँवरको अरौदी खोलाले बगाएर मृत्यु भएको छ । गुल्मीदरबार ६ ठुलापोखरा स्थित मान बहादुर कामीको घर माथिबाट पहिरो जाँदा घर र गोठ पुरिएर , बाख्रा, भैंसी गरि ६ लाखको क्षति भएको छ ।, मानवीय क्षति नभएको बताइएको छ । बाइकमा मरेङ खोला तर्ने क्रममा धुर्कोट गापा १ नयाँगाउँका हरी कुँवरको लु ८१ प ३८९६ नम्बरको बाइक बगायो, चालक सकुशल रहेका छन ।

कालिगण्डकी करिडोरअन्तरगत हर्मिचौरदेखि पूर्तिघाट सडकको बीच बीचमा पहिरो गई सडक पूर्णरूपमा अवरूद्व भएको छ ।तम्घास सिमलटारी सडकअन्तरगत हुलाके खोला र रोदी खोलामा पानीको बहाव बढी सडक पूर्णरूपमा अवरुद्ध भएको छ । रेसुङ्गा नगरपालिका १२ स्थित मोती बहादुर रानाको घरमाथिबाट पहिरो जाँदा घर जोखिममा, शशस्त्रद्वारा उद्वार गरिएको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बताउनु भएको छ । रेसुङ्गा नगरपालिका १३ दुविचौरमा सडक अवरुद्ध गर्नेगरी माथिबाट ढलेको रूख हटाएको छ ।

रेसुङ्गा नगरपालिका ७ कुँडापानीस्थित ९ तम्घास अर्घाखाँची सडकअन्तरगत माथिबाट पहिरो जाँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ । चन्द्रकोट गाउँपालिका ७ स्थित चन्द्रकोट मजुवा सडकमा पहिरो, सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।
रूद्रवेणी वामी सडक अन्तरगत सत्यवती गापा ५ बाँदरेभिरमा पहिरो गई सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।यस्तै रेसुङ्गा नगरपालिका ९ देउरालीस्थित रिडी तम्घास सडकमा पहिरो खसेको छ ।यता गुल्मीदरवार गाउँपालिका अवस्थित चारपाला घुम्तीमा पहिरो, सडक अवरुद्ध भएको छ । उता सेउघा सिमाघाट सडक अन्तरगत सेउघामा पहिरो, सडक पूर्णरूपमा अवरुद्ध भएको छ । जिल्ला विपद व्यवस्थापन महाशाखा गुल्मीका संयोज तथा प्रमुख जिल्ला अधिकारी पौडेले वर्षातका कारण भएको जनधनको क्षेती प्रति दुःख व्यक्त गर्दै क्षतीलाई न्युनिकरण गर्न जिल्ला स्थित विपद् व्यवस्थापन समितिलाई सकृयता बढाउन निर्देशन दिनु भएको छ।

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation