दाङ क्षेत्र नम्बर १ मा कसैले पनि उम्मेदवारी फिर्ता लिएनन्

दाङ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराएकाहरुमध्ये कसैको पनि उम्मेदवारी फिर्ता नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृत मानवबहादुर विष्टका अनुसार दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा र प्रदेश सभातर्फ २७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरिए पनि सो अवधिभित्र कसैको पनि उम्मेदवारी फिर्ता नभएको निर्वाचन अधिकृत विष्टले जानकारी दिए ।

दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र नेकपा एमालेकी शान्ता चौधरी उम्मेदवार छन् । एमाले त्यागेकी गंगा चौधरीले पनि भर्खरै खुलेको दल हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएकी छन् ।

प्रदेश सभातर्फ क्षेत्र नम्बर १ ‘क’ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका अनुराग खड्का र नेकपा एमालेका गंगाराम भट्टराई तथा ‘ख’ मा नेकपा माओवादी केन्द्रका इन्द्रजित चौधरी र एमालेका कुलबहादुर केसी उम्मेदवार छन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation