पहिरोको जोखिमका कारण अर्घाखाँचीमा ४१ परिवार विस्थापित

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ खाँचीकोटको भुजुङ्गेमा पहिरोको जोखिमका कारण ४१ घरपरिवार विस्थापित भएका छन् ।

पहिरोको उच्च जोखिमका कारण ४१ दलित परिवारका १ सय ६१ जना विस्थापित भएका वडाअध्यक्ष चुराबहादुर केसीले बताउनुभयो । उनीहरुलाई स्थानीय चन्द्र प्रभा माध्यमिक विद्यालयको भवनमा सारिएको छ । जसमा ४ जना गर्भवती र ४ जना सुत्केरी समेत रहेका छन् ।

सिङ्गो गाउँका केही घरहरु पहिरोले भत्किएका छन् । केही घरहरु उच्च जोखिममा रहेका छन् । ती घरहरु नै अन्यत्र सार्नुपर्ने अवस्था रहेको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ उपाध्यायले बताउनुभयो । विद्यालयमा बसेका विस्थापितलाई उद्योग वाणिज्य सङ्घ र नेपाल रेडक्रस सोसाइटीले राहत प्रदान गरेको छ ।

तत्कालका लागि चामल, दाल, तेल, नुन लगायतका खाद्य सामग्री हस्तान्तरण गरेको उद्योग वाणिज्य सङ्घका महासचिव तुलसी खनालले बताउनुभयो । पहिरोमा परेर घर गुमाएका भुजुङ्गेका दलित परिवारलाई २० थान कम्बल र २० थान म्याट प्रदान गरेको नेपाल रेडक्रस सोसाइटीका अर्घाखाँची शाखाका सभापति कुशल भुसालले जानकारी दिनुभयो ।

पहिरोले अर्घाखाँचीमा कुल १ सय ११ घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई विद्यालय, आफन्तको घर तथा सार्वजनिक ठाउँमा बसोबासको व्यवस्था मिलाइएको छ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation