आज प्रधानमन्त्री म छु, भोलि प्रचण्ड, माधव हुनुहोलाः देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिका दिनमा प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री बन्न सक्ने बताएका छन्। ‘आज शेरबहादुर प्रधानमन्त्री छ, भोलि प्रचण्डजी, माधव नेपालजी हुनुहोला,’ उनले भने, ‘त्यसकारण यहाँ हिजोको कुरा गरेर काम छैन हेर्नुस्।’

सत्तारूढ ५ दलीय गठबन्धनले पोखरामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले एउटै पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गर्न परेको बताए। ‘हामीले अत्यन्त सुन्दर व्यवस्था ल्याएका छौं, यस व्यवस्थामा सबै पार्टी मिल्न जरूरी छ,’ उनले भने, ‘कुनै एउटा पार्टीको बहुमत आउन सक्दैन, यस हिसाबले गठबन्धनको आवश्यकता छ।’

समावेशी लोकतन्त्रले सबैको प्रतिनिधित्व हुने भनै प्रधानमन्त्री देउवाले यसले राष्ट्रिय एकता बलियो बनाउने बताए। सबै ठाउँका भूगोल र जनसंख्याको प्रतिनिधित्व गराउन आफूहरू सफल भएको उनको भनाइ छ।

मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारले जित्न आवश्यक रहेको उनले बताए। ‘गठबन्धनले जित्नुपर्ने आवश्यकता छ, कुनै पनि हालतमा,’ उनले भने, ‘गठबन्धनमा भोलि पनि तिक्तता ल्याउने काम कारबाही कसैबाट गर्नुहुँदैन।’

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation