दाङमा महासचिव पोखरेलको निर्वाचन क्षेत्रमा भएन एमालेको तालमेल

दाङ । मंसिर ४ को निर्वाचन एक्लै लड्ने घोषणा गरेको नेकपा एमाले पनि अन्ततः जसपा र राप्रपासँग तालमेल गरेर सत्ता गठबन्धनसँग प्रतिस्पर्धामा होमिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रसहित २५ स्थानमा तालमेल गरेको एमालेले महासचिव शंकर पोखरेलको गृह जिल्ला दाङमा भने कसैसँग तालमेल गरेन ।

राप्रपा र जसपासँग तालमेल नभएपछि महासचिव पोखरेल दाङ क्षेत्र नं. २ बाट एक्लै चुनावी मैदानमा छन् । उनको चुनावी प्रतिस्पर्धा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेता एवं पूर्वमन्त्री रेखा शर्मासँग छ । शर्मालाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनमोर्चा र लोसपा गरी पाँच दलको साथ छ ।

महासचिव पोखरेलको निर्वाचन क्षेत्रमा तालमेल नहुने भएपछि राप्रपा र जसपाले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि र प्रदेश सभा तर्फ उम्मेदवार उठाएका छन् ।

०७४ सालको निर्वाचनमा कांग्रेससँग चुनावी तालमेल गर्दा पार्टीलाई क्षति पुगेको भन्दै यो पटक सुरुदेखि नै अन्य दलसँग तालमेलको पक्षमा आफूहरु नरहेको दाङका राप्रपा नेताहरु बताउँछन् । ‘विगतमा हामीले गठबन्धन गरेर हेरिसक्यौं’ राप्रपाका जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेतले भने, ‘गठबन्धन गर्दा पार्टी झन् कमजोर भएको महसुस गर्यौं । विगतको समीक्षा गर्दै यो निर्वाचनमा कुनै दलसँग तालमेल गर्ने मनसायमा थिएनौंं ।’

उनले चुनावी तालमेलबारे जिल्लामा राप्रपा र एमालेबीच छलफल नै नभएको बताए । ‘उहाँहरु हामीलाई खोज्दै आउनु भएन, हामी पनि उहाँहरुलाई खोज्दै गएनौं,’ बस्नेतले भने ।

यता एमालेले जिल्लामा राप्रपासँग चुनावी तालमेल नै गर्न नचाहेको बताउँछ । पोखरेल हेभिवेट नेता र बलियो उम्मेदवार भएकाले अन्य दलसँग तालमेल गर्न आवश्यक नपरेको एमालेका नेताहरु बताउँछन् । आफ्नो संगठन बलियो भएकाले कसैको साथविना दाङमा निर्वाचन जित्ने दाबी एमालेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation