माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार श्रेष्ठ र गैरे एमालेमा प्रवेश

रुपन्देही । नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार भानुप्रकाश श्रेष्ठ र प्रदेश कमिटी सल्लाहकार सदस्य जगत गैरे एमाले प्रवेश गरेका छन् । बुटवलमा शनिवार आयोजित कार्यक्रममा सल्लाहकारद्वयलाई एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले शनिवार पार्टीमा स्वागत गरे । उनीहरू २०५७ मा द्न्द कालमा एमाले छाडेर माओवादी प्रवेश गरेका थिए ।

पुरानै घरमा फर्किन पाउँदा खुसी भएको श्रेष्ठले बताए । उनीहरू पार्टीमा स्वागत गर्दै पौडेलले पुराना नेताहरू एमालेमा प्रवेश गरेकामा खुसी व्यक्त गर्दै उचित स्थान दिने बताए । नेताहरूलाई एमाले प्रवेश गराउँदै एमाले उपाध्यक्ष पौडेलले देशको समृद्धि र विकासका लागि एमालेलाई बलियो बनाउनुको विकल्प नभएको बताएका छन् ।

उनले केही स्वार्थी समूहहरूले एमाले विरोधी अभियान चलाएपनि नागरिकले देशको पक्षमा, समृद्धिको पक्षमा कसले काम गरेको छ भन्ने विषय बुझिसकेको बताए । विभिन्न कारणले एमालेको नेतृत्व बाहिर रहेकाहरूलाई सबै मिलेर गोलबन्द गराउने विषयमा सबै जुट्नुपर्ने समय आएको नेता पौडेलको भनाइ थियो । कार्यक्रममा एमाले केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थीले ठूलो संघर्ष गरेका नेताहरूले एमाले रोजेका कारण सबैलाई उत्साह थपिएको बताए ।

एमाले प्रवेश गरेका श्रेष्ठ चक्रपाणी खनाल बलदेवको चुनावी क्षेत्र १ नम्वरका माओवादी नेता हुन् । प्रबेश कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य विमला घिमिरे कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्मा, पूर्व अध्यक्ष झविलाल पोख्रेल, हालै एमाले प्रबेश गरेका नेता सोमनाथ अर्याल लगायत कपिलवस्तुका दर्जनौ नेता कार्यकर्ता सहभागि थिए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation