रुपन्देही–५ लाई तिलोत्तमा जस्तै नमूना बनाउछु : बासुदेव घिमिरे

गैडहवा । नेकपा एमाले, जसपा र राप्रपाका साझा उम्मेदवारहरुले रुपन्देहीको गैडहवा गाउँपालिकामा महिला तथा युवाहरुसँग अन्तरक्रिया गरेका छन् । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका सन्दर्भमा आफ्ना चुनावी एजेण्डाका बारेमा जानकारी दिँदै मतदाताका सुझाव लिन उम्मेदवारहरुले अन्तरक्रिया गरेका हुन् ।

अन्तरक्रिया कार्यक्रममा विभिन्न सामाजिक संघ संस्था, क्लव, आमा समूहका प्रतिनिधिहरुका साथैं पार्टीका जनवर्गीय संगठन र अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा निर्वाचन परिचालन कमिटीका संयोजक खिमलाल भट्टराईले क्षेत्र नं.५ मा एमाले, जसपा र राप्रपाका साझा उम्मेदवारको जीत सुनिश्चित भएको बताउँदै मंसिर ४ पछि विकासको नयाँ लहर आउने दाबी गरे । उनले पार्टीका एजेण्डा मतदाताको घर÷घरमा लगेर बुझाउन अगुवा कार्यकर्तालाई निर्देशन समेत दिए ।

यस्तै प्रतिनिधिसभाका उम्मेदवार बासुदेव घिमिरेले लुम्बिनी र आसपासका पर्यटकीय क्षेत्रको योजनाबद्ध विकासले समग्र प्रदेशकैं विकासमा टेवा पुर्याउने बताउँदै यस क्षेत्रका जनताको आर्थिक, सामाजिक रुपान्तरणको लागि आफू सधैं प्रतिबद्ध रहने बताए । नगर प्रमुख हुँदा रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई मुलुककैं नमूना नगरपालिका बनाएका उम्मेदवार घिमिरेले आफ्नो विगतको अनुभवको आधारमा क्षेत्र नं. ५ लाई समेत नमूना बनाउने बताए ।

क्षेत्र नं. ५ मा विकासका थुप्रैं सम्भावना रहे पनि विगतमा सोअनुसारका काम हुन नसकेको बताउँदै उनले यहाँका तमाम समस्या समाधानका लागि आफूले योजनाबद्ध रुपमा काम गर्ने बताए । कार्यक्रममा प्रदेशसभा सदस्य पदका उम्मेदवार भुमिश्वर ढकाल र रामचन्द्र यादवलगायतका नेताहरुले क्षेत्र नं. ५ को आमूल विकासका लागि आफूहरुलाई मत दिन मतदाताहरुलाई आग्रह गरेका थिए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation