कम्जोर जनप्रतिनिधि चुने फेरि पनि जिल्लाको विकास पछि पर्ने नेता थापाको तर्क

उपकार अनलाइन, प्युठान।
प्यूठानको समग्र विकासमा नेकपा मसाल र त्यसको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा विकासमा बाधक बनिरहेको नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व खानेपानी मन्त्री मणीचन्द्र थापाले आरोप लगाउनु भएको छ।

भरोसा गरेर जिल्ला बासीले जिताएर पठाएको जनप्रतिनिधी र पार्टी कमजोर हुँदा प्यूठानको विकास र समृद्धिले गति लिन नसकेको नेता थापाको आरोप थियो । स्वर्गद्धारी नगरपालिकामा आयोजना गरिएको नेकपा एमालेको चुनावी सभालाई सम्वोधन गर्दै प्रमुख अतिथी समेत रहेका थापाले त्यस्तो जनप्रतिनिधी चुनेर पठाएमा जिल्ला फेरी पछाडी पर्ने तर्क गर्नु भयो। जिल्लाबाट निर्वाचित जनप्रतिनिधीको पार्टी राष्ट्रिय जनमोर्चाले विकास र समृद्धीको कुरा गर्नुको साटो जहिल्यै विरोध र भण्डाफोरको मात्र नारा सुनाइरहँदा नागरिक हैरानी भएको उहाँको भनाई छ।

पूर्व खानेपानी मन्त्री समेत रहेका थापाले आफू जनप्रतिनिधी नभएपनि प्यूठानको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको दावी गर्नु भयो । आफू मन्त्री र प्रतिनिधीसभा सदस्य सूर्य थापा प्रधानमन्त्रीको प्रेस सल्लाहकार हुँदा जिल्लाको विकासमा करौडौँ बजेट पठाएको थापाले स्वर्गद्धारी बासीलाई जानकारी दिनु भयो। तर, जिल्लाबाट निर्वाचित जनप्रतिनिधीले आफूसँग कहिल्यै पनि यहाँको विकासका बारेमा चासो र चिन्ता नगरेको उहाँको गुनासो थियो ।

उहाँले दिगो विकासका लागि स्थायी सरकार र बोलियो पार्टी हुनु पर्ने बताउनु भयो। देशमा धेरै टुक्रे पार्टी आवश्यक नभएको धारणा राख्दै थापाले एउटा कम्युनिष्ट र अर्को नेपाली कांग्रेस पार्टी मात्र जनताले चाहेको धारणा राख्नु भयो।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation