चुनावका दिन क–कसले सवारी साधन चलाउन पाउँछन् ?

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदान हुने दिन पास बिनाका सवारी साधन सवारी साधन चलाउन नपाइने भएको छ।

निर्वाचन आयोगका अनुसार काम विशेषले सञ्चालन गर्नुपर्ने सवारीले अनिवार्य रूपमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट पास लिनुपर्नेछ।

एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार शेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सवारी साधनले अनुमति पत्र लिनु नपर्ने आयोगले जनाएको छ।

आयोगले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई पनि मतदान केन्द्रसम्म पुग्न सवारीको प्रयोग गर्न पाउने गरी मापदण्ड तय गरेको छ।

शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको लागि सम्बन्धित स्थानका मुख्य निर्वाचन अधिकृतले सवारी पास दिनुपर्नेछ। अनुमति पाएको सवारी पासमा त्यस्ता व्यक्तिबाहेक एकाघरको अर्का एक जना साथीले मतदान केन्द्रसम्म जान आउन पाउने व्यवस्था छ।

यस्तै अन्तर्राष्ट्रिय हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुले पासपोर्ट, भिसा र हवाई टिकटको माध्यमबाट विमानस्थलसम्म र विमानस्थलदेखि बासस्थानसम्म आवागमन गर्न सक्ने आयोगले बताएको छ।

अन्य सवारी साधनलाई पनि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमति दिने गरी अधिकार दिइएको छ।

पत्रकारको हकमा काठमाडौं उपत्यकामा सूचना विभागको कार्डका आधारमा प्रमुख जिल्ला अधिकारीले अनुमतिपत्र जारी गर्नेछ।

मतदानका दिन दैनिक उपभोगका वस्तु बोक्ने तथा अत्यावश्यक सवारी साधनको लागि अनुमति लिनु नपर्ने आयोगले जनाएको छ।

आयोगले भारत र चीनसँग जोडिएका सीमा नाका ३ दिन बन्द गर्न पनि सरकारलाई पत्र पठाएको छ।

मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारी साधन कब्जामा लिई आवश्यक कानूनी कारवाही गर्ने जनाइएको छ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation