डडेलधुरामा शेरबहादुर देउवाको सातौं जित

काठमाण्डौ । डडेलधुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ ।

कुल ५१ हजार २०३ मत गणना हुँदा देउवा २५ हजार ५३४ मतका साथ विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गर्नुभएको छ । अर्का उम्मेदवार नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याउनुभयो ।

देउवा २००३ साल जेठ ३१ गते डडेल्धुराको असिग्राम गाविस—५ मटेला, रुवाखोलामा जन्मिनुभएको हो । २०१७ सालदेखि राजनीतिमा लागेका देउवा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्र्थी संघको पहिलो निर्वाचित अध्यक्ष समेत हुनुहुन्छ । २०४८ सालको आमचुनावमा देउवा डडेल्धुराबाट विजयी हुनुभयो । देउवाले २०५१ र २०५६ सालको संसदीय चुनाव, २०६४ र २०७० सालको संविधानसभा चुनाव तथा २०७४ सालको संसदीय चुनावमा डडेल्धुराबाट जित्नुभएको थियो ।

पार्टीभित्रको अन्तरसंघर्ष चर्किएपछि देउवाले २०५९ सालमा कांग्रेस पार्टी फुटाएर नेपाली नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गर्नुभयो र त्यसको सभापति हुनुभयो । २०६४ सालमा फेरि कांग्रेस एक भयो । पार्टी एक भएपछि कांग्रेसको नेतृत्वको आकांक्षी रहे पनि उहाँ सुशील कोइरालासँग पराजित हुनुभयो । २०७२ फागुनमा भने रामचन्द्र पौडेललाई हराएर देउवा कांग्रेसको सभापति बन्नुभयो । २०७८ सालमा भएको कांग्रेसको १४ महाधिवेशनबाट शेखर कोइरालालाई हराएर उहाँ फेरि कांग्रेसको सभापति बन्नु भएको हो ।

देउवा ५ पटक प्रधानमन्त्री भैसक्नुभएको छ । २०५२ साल भदौ २६ गते देउवा राप्रपा लगायत दलसँगको सहकार्यमा पहिलोपटक प्रधानमन्त्रीका रुपमा डेब्यु गर्नुभयो । २०५३ साल फागुन २६ गते प्रधानमन्त्रीबाट हटेका देउवा २०५८ साल साउन ७ गते दोश्रो पटक प्रधानमन्त्री बन्नुभयो । तेस्रोपटक ०६१ साल जेठ २१ गते प्रधानमन्त्री बन्नुभयो ।

यस्तै २०७४ सालको जेठ २३ गते माओवादीको समर्थनमा देउवा चौथोपटक प्रधानमन्त्री हुनुभयो । २०७८ जेठ ७ मा केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डलले प्रतिनिधि सभा बिघटनका लागि सिफारिस गरेपछि १ सय ४९ सांसदले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरियोस् भनेर सर्वोच्च अदालतमा रिट दायर गरे । त्यसपछि सर्वोच्चको परमादेशअनुसार २०७८ असार २९ गते देउवा पाँचौं पटक प्रधानमन्त्री बन्नुभयो ।

देउवा यसपटक पनि डडेल्धुरा १ बाट नै उम्मेदवार हुनुहुन्छ । यसअघिका सबै चुनाव जित्नु भएका देउवाले २०७४ को चुनावमा माओवादी नेता खगराज भट्टलाई हराउनु भएको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation