बाजुरामा अनिश्चित बन्यो मतगणना

बाजुरा । बाजुरामा मतगणना अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) का कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत खसाएको निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना अनिश्चित बनेको हो ।

चुनावका बेला एमालेले आफ्नो पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गर्दै मतदानमा सहभागी नभएका र विदेश गएका तथा ज्यान गुमाएका व्यक्तिको नाममा समेत मत हालेको कांग्रेसले आरोप लगाएको छ । कांग्रेसले पाँच मतदानस्थलका १७ मतदान केन्द्रमा पुनः चुनाव गर्न माग गर्दै उजुरी दिएको छ ।

यस्तै नेपाली कांग्रेसको पहुँच भएको मतदान केन्द्रमा कुथ कब्जा गरी विदेश भएका, जागिरको सिलसिलामा जिल्ला बाहिर रहेका र ज्यान गुमाएका व्यक्तिको नामामा समेत मत हालेको आरोपमा एमालेले पनि १७ मतदान केन्द्रमा पुनः चुनावको माग गर्दै आयोगमा उजुरी दिएको छ ।

कांग्रेस र एमालेले पुनः चुनावका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा उजुरी दिएपछि आयोगले बनाएको छानबिन समिति टोलीले बाजुरा पुगेरै अध्ययन थालेको छ ।

जिल्लामा विभिन्न निकायसँग सुझाव सङ्कलन गरेर टोली आज काठमाण्डौ फर्किने छ । टोलीले बुझाएको प्रतिवेदन पछि निर्वाचन आयोगले उजुरी परेका ठाउँमा गणना गर्ने कि पुनः मतदान गर्ने भन्ने विषयमा निर्णय गर्नेछ। आयोगको निर्णयको पर्खाइमा रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी नवराज अवस्थीले बताउनुभएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation