दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

दाङ । दाङको तुलसीपुरको मलवारमा करेन्ट लगाई माछा मार्ने क्रममा शनिबार दिउँसो एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १६ मा ५० वर्षीय सुरेश डाँगीको दिउँसो साढे २ बजेतिर स्थानीय मलवारे कुलोमा करेन्ट लगाई माछा मार्ने क्रममा घटनास्थलमै मृत्यु भएको हो ।

स्थानीय तेन्डु चौधरीको घरबाट करेन्टको तार लगेर मृतका छोरा निर्मल डाँगीसहित तीन जना मल्वारे कुलोमा माछा मार्न गएका थिए । त्यही क्रममा करेन्ट लागेर घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए । घटनास्थलतर्फ प्रहरी पठाइएको उनले बताए ।

शव पोस्टमार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइने भएको छ । डाँगीको घर कैलाली जिल्लाको भजनी रहे पनि उनी विगत दश वर्षदेखि तुलसीपुरको मलवारस्थित घरमा परिवारसहित बस्दै आएका थिए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation