प्रेममा धोका भएपछि खुकुरी प्रहार गरी हत्या

नवलपरासी ।  गत मङ्गलबार राति बर्दघाट हाटबजारमा एक जना मानिसको खुकुरीले हानेर हत्या भएको छ भन्दै बर्दघाट प्रहरीलाई फोन आयो । बर्दघाट प्रहरी तुरुन्तै गतिमा आयो । प्रहरीले आफ्नो उपल्लो निकायलाई पनि सूचना गर्दै प्रहरीको एउटा टुकडी घटना स्थालतर्फ गयो ।

बर्दघाट नगरपालिकाको हाटबजारको एउटा चिया खाजाखाने पसलमा प्रहरी पुग्दा बन्द सटरको भित्री भागमा रक्ताम्मे भएकी एक महिला अचेत अवस्थामा पल्टिएकी थिइन् । घाइते महिलालाई अस्पतालतर्फ पठाएपछि घरमा प्रहरीले अनुसन्धान गर्दा माथितलामा सुतेको अवस्थामा एकजना पुरुष भेटिए ।

पुरुषको घाँटीमा गरिहो काटेको चोटसँगै मृत अवस्थामा पल्टिएको भेटियो । मानिसमाथि प्रहार गरेका रगत सहितको खुकुरी पुरुषको लाश नजिकै फालिएको थियो । यो घटनाको अनुसन्धान गर्न सुरुमा प्रहरीलाई हम्मेहम्मे परेको थियो मृतकको साथबाट परिचय खुल्ने कागजपत्र हात परेपछि प्रहरीले अनुसन्धान प्रक्रिया सुरु गरेको थियो ।

प्रहरीले सिडिआर एनालाइसिस प्रविधि (कल डिटेल रेकर्ड एनालाइसिस) प्रविधि प्रयोग गरेर घटना घटेको २४ घण्टा नबित्दै ४६ वर्षीय दिलीप रानामगरको हत्यामा संलग्न बर्दघाट नगरपालिका वडानम्बर २ का ५० वर्षीय ज्ञानेन्द्रबहादुर रानालाई उनकै घरबाट नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक भोजराज पाण्डेका अनुसार हत्यामा संलग्न ज्ञानेन्द्रबहादुर रानाको बर्दघाट हाटबजारमा खाजा पसल गर्दै आएकी बाग्लुङकी विष्णुकुमारी काउछासँग पछिल्लो दुई वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो ।

बाग्लुङको आफ्नै गाउँको दाई पर्ने दिलीपकुमार रानामगर बेलाबेलामा विष्णुकुमारीकोमा आउने जाने गर्थे । तर त्यो ब्यवहार ज्ञानेन्द्रलाई मन परेको थिएन । त्यसैको बदलामा पछिल्लो मङ्गलबार पनि दिलीपकुमार विष्णुकुमारीकोमा आएको थाहा पाउनासाथ ज्ञानेन्द्रले नजिकै रहेको खुकुरी प्रहार गरी दिलीपको हत्या गरेका थिए ।

ज्ञानेन्द्रले घाँटी नै छिनालेर दिलिपको हत्या गरेको बयानमा स्वीकारेको अनुसन्धानमा संलग्न प्रहरीले बताएका छन् । प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कुरा खुलेको भए पनि थप अनुसन्धानका लागि प्रहरीले अदालतबाट पाँच दिनको म्याद थप गरि अन्य अनुसन्धान जारी राखेको छ । खुकुरी प्रहरमा परी गम्भीर घाइते भएकी विष्णुकुमारी काउछाको अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation