परिवर्तनको लागि ३० वर्षदेखिको मुलुकको नेतृत्व फेर्नुपर्छ : चन्द्र भण्डारी

बुटवल । नेपाली काँग्रेसका नेता एवं गुल्मी क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य डा.चन्द्र भण्डारीले मुलुकको नेतृत्व गर्ने अनुहार परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । विगत ३० वर्षदेखि एउटै अनुहारले मुलुकको नेतृत्व गरेको बताउँदै उनले परिवर्तनको खाँचो रहेको बताएका हुन् । प्रेस यूनियन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले पुराना तथा पाका नेताहरुले अब विश्राम लिनुपर्ने बेला भएको स्पष्ट पारे ।

देशलाई सही दिशामा अघि बढाउन र वर्तमान समस्यालाई समाधान गर्नका लागि युवाहरुको महत्वपूर्ण भूमिका हुने भन्दै नेता भण्डारीले अबको नेतृत्व युवाको काँधमा जानु पर्ने बताए । उमेरले नभई सोच र इच्छाशक्तिले युवाको निर्धारण गर्ने बताउँदै उनले आगामी सरकारको नेतृत्व कसले गर्नेभन्दा पनि किन गर्ने भन्ने कुरा महत्वपूर्ण रहेको उल्लेख गरे । दलका नेताहरु सरकार गठन र प्रधानमन्त्री को भन्ने विषयमा केन्द्रित भएको बेलामा अब बन्ने प्रधानमन्त्रीले के–के गर्न सक्ने भन्ने विषय महत्वपूर्ण रहेको भण्डारीले बताए ।

वर्तमान समयमा दलहरुले प्राप्त गरेको निर्वाचनको परिणामलाई लिएर बजारमा विभिन्न अडकलवाजीहरु चले पनि सबैसँग छलफल गरेर निश्कर्षमा जानुपर्ने उनले बताए । ‘नेतृत्वले माओवादी नेता प्रचण्डा, समाजवादी नेता माधवकुमार नेपालसँग मात्र होइन अब एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्नुपर्छ ।’–नेता भण्डारीले भने अब हामी फरक ढँगले अघि बढ्नुपर्ने आवश्यक छ । भण्डारीले निर्वाचन जित्नु केवल मन्त्री बन्नैका लागि मात्र नभएको भन्दै मुलुकलाई केही परिवर्तनकारी काम गर्नका निम्ती मन्त्री बन्ने सोंच बनाउनु पर्ने बताए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation