एक वर्षमा ९ लाख ३३ हजारभन्दा धेरै विद्युतीय राहदानी जारी

काठमाण्डौ । गएको एक वर्षमा काठमाण्डौमा रहेको राहदानी विभागबाट मात्रै तीन लाख ३४ हजारभन्दा धेरैले विद्युतीय राहदानी लिएका छन् ।

अघिल्लो वर्ष मङ्सिर एक गतेदेखि गएको कात्तिक ३० गतेसम्मको अवधिमा  विभागबाट मात्रै तीन लाख ३४ हजार ५८३ जनाले विद्युतीय राहदानी लिएको राहदानी विभागले जनाएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट ५ लाख १६ हजार ८०५ जनाले र विदेशस्थित नेपाली नियोगहरूबाट ८१ हजार ९०५ जनाले गरी जम्मा ९ लाख ३३ हजार २९३ थान राहदानी जारी भएको विभागले उल्लेख गरेको छ ।

सरकारले गएको वर्षको मङ्सिर १ गतेदेखि नै विद्युतीय राहदानी जारी गर्न थालेको थियो । विभागका अनुसार देशका सबै जिल्ला प्रशासन कार्यालय, १७ वटा इलाका प्रशासन कार्यालय र ३८ वटा कूटनीतिक नियोगहरूबाट विद्युतीय राहदानी जारी भइरहेको छ ।

विद्युतीय राहदानी लिन अनलाइनबाटै प्रिइनरोलमेनट गर्न पर्छ र यस्तो इनरोलमेन्ट लाइभ हुन्छ । जिल्लाबाट नै आवेदन दिएको भए पनि लाइभ इनरोलमेन्ट हुने हुँदा राहदानी प्रिन्ट भएर छिट्टै नै जिल्लामा पुग्ने गरेको विभागले दाबी गरेको छ ।

यस्तै विभागले राहदानी बनाइदिने, अपोइन्टमेन्ट डेट अगाडि सारिदिनेजस्ता बहानामा कोही कसैले ठगी गर्न खोजेमा विभागमा वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि अनुरोध गरेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation