जिल्ला स्तरीय ‘सिद्धार्थ क्वीज’ को उपाधि जनता नमूना मा.वि लाई

कपिलवस्तु । कपिलवस्तु जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता ‘सिद्धार्थ क्वीज’मा जनता नमूना माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ । सिद्धार्थ क्याम्पस बाणगंगाको आयोजनामाआइतबार क्याम्पसको सभाहलमा सम्पन्न प्रतियोगिताबाट उक्त विद्यालयका रोविन बराल र शिक्षा पौडेलको समूहले प्रथम स्थान हासिल गर्न सफल भएकोे हो ।

प्रतियोगितामा सिद्धार्थ क्याम्पसका समिर मनिहार र सुजता केसीको समूहले द्वितीय स्थान हासिल गरेको छ भने बुद्धभूमि क्याम्पस बरकुलपुरका राजेन्द्र बढई र दिपा तिवारीको समूह तृतीय भएको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने समूहलाई नगद पुरस्कार सहित प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । प्रतियोगितमा कपिलवस्तु जिल्लामा सञ्चालित क्याम्पसका स्नात कतह तथा कक्षा ११÷१२ का विद्यार्थीहरुलाई सहभागी गराइएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थ क्याम्पस सञ्चालक समितिअध्यक्ष झविलाल पोख्रेलले विद्यार्थीहरुको बौद्धिक क्षमता अभिवृद्धि गर्न हाजिरी जवाफ प्रतियोगिताले सहयोग गर्ने बताउनुभयो । अध्यक्ष पोख्रेलले विद्यार्थीहरु देशको कर्णधार भएकाले हरेक विद्यार्थीले देशको आर्थिक, सामाजिक, राजनैतिक र भौगोलिक अवस्थाको बारेमा चासो दिनुपर्ने औंल्याउनुभयो ।

कार्यक्रममा विद्यार्थीहरुको संज्ञानात्मक पक्षको विकास गर्ने उद्देश्यले सिद्धार्थ क्याम्पसले हरेक वर्ष जस्तै यस वर्ष पनि ‘सिद्धार्थ क्वीज’आयोजना गरेको क्याम्पस प्रमुख खेमराज शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख गोविन्द प्रसाद खनाल तथा उपप्राध्यापक कुलराज भुसालले क्वीज मास्टरको भूमिका निर्वाह गर्नुभएको थियो भने उपप्राध्यापक द्वय मधुसुदन पौडेल र गुनाखर घिमिरेले स्कोर किपर तथा उपप्राध्यापक अनिमा जिसीले टाइम किपरको भूमिका निर्वाह गर्नुभएको थियो ।

कार्यक्रम अतिरिक्त क्रियाकलाप समिति संयोजक रमेश पौडेलको सञ्चालन र क्याम्पस प्रमुख खेमराज शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation