सरकारले ल्याएको अध्यादेशविरुद्ध काठमाण्डौमा प्रदर्शन

काठमाण्डाै ।  सरकारले ल्याएको अध्यादेशविरुद्ध काठमाण्डौमा प्रदर्शन भएको छ । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।

सरकारले फौजदारी मुद्दाको सजाय भोगिरहेका रेशम चौधरी, मोहमद आलमलगायतलाई उन्मुक्ति दिने गरी अध्यादेश ल्याउन लागेको भन्दै उनिहरुले आज बिहान त्रिचन्द्र कलेज अगाडि प्लेकार्डसहित नाराबाजी गरे । अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा समेत मागेको छ ।

विभिन्न मुद्दामा कसुर ठहर भई सजाय भोगिरहेका कैदीबन्दीलाई छुट दिन अध्यादेशमार्फत फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्ने मन्त्रिपरिषद्को निर्णयलाई सत्ता गठबन्धनकै केही नेता तथा एमालेका नेताहरुले विरोध गरेका छन् ।

राजनीतिक समूहमा आबद्ध भएर विभिन्न कसुरमा जेलमा रहेका कैदीबन्दीलाई रिहाइ गर्न मन्त्रिपरिषद्ले आइतबार अध्यादेश ल्याउने निर्णय गरेको हो । देउवा नेतृत्वको कामचलाउ सरकारले मधेस आन्दोलन, टीकापुर घटना, नेत्रविक्रम चन्द समूह र सीके राउत समूहका नेता/कार्यकर्ताविरुद्ध विचाराधिन मुद्दा फिर्ता लिने तयारी गरेको छ । सरकारले अध्यादेश राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष पेश गरिसकेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation