प्रदेशका सबै जिल्लालाई जोड्ने गरी १३ सय किलोमिटर पहाडी मार्ग सम्पन्न गरेका छौँ : मुख्यमन्त्री केसी

रूपन्देही ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफू नेतृत्वको प्रदेश सरकारले संघीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेको दाबी गरेका छन्।

लुम्बिनी प्रदेश कार्यालय बुटवलले लालमटियास्थित मुख्यमन्त्री कार्यालयमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रदेशको राजधानी सार्ने अघिल्लो प्रदेश सरकारको निर्णय आफूले कार्यान्वयन गर्न सफल भएको पनि स्पष्ट पारे। आफू नेतृत्वको प्रदेश सरकारले प्रदेशभित्र रहेका सबै जिल्लालाई जोड्ने गरी १३ सय किलोमिटर पहाडी मार्ग सम्पन्न गरेको, लुम्बिनी प्रादेशिक विशेषज्ञ अस्पताल तथा लुम्बिनी प्रादेशिक विश्वविद्यालय स्थापना गरेर संघीय शासन व्यवस्थालाई बलियो बनाउने दायित्व पूरा गरेको उनको भनाइ थियो।

‘राप्ती उपत्यका सबैको पायक पर्ने ठाउँ देउखुरी, नजिकै गौतमबुद्धको जन्मस्थल लुम्बिनी छ। त्यसको नजिकै काखमा हामीले आफ्नो राजधानी सार्ने काम गरेका छौं। प्रदेशसभाले पारित गरेको प्रस्तावलाई पूर्ण रूपमा कार्यान्वयन गरेर संघीय व्यवस्था बलियो बनाउने जिम्मेवारी पूरा गर्ने मेरो दायित्व थियो। यो अन्तिम समयमा पूरा गर्ने अवसर प्राप्त भएको छ। पहिलो प्रदेशसभाले गरेको निर्णय कार्यान्वयन गरिदिनु पर्दछ। त्यसलाई स्थापित गरिदिनु पर्छ’, मुख्यमन्त्री केसीले भने, ‘एउटा गौरवका साथ हामीले प्रदेशको राजधानी निर्माण र व्यवस्थापन गरेका छौं। दोस्रो पूर्वाधारको हिसाबले प्रदेशका १२ वटै जिल्लालाई जोड्ने गरी १३ सय किलोमिटर पहाडी मार्गलाई उत्तर–दक्षिण जोड्ने रणनीतिक योजना थियो। त्यसलाई पूरा गर्ने। तेस्रो, लुम्बिनी प्रादेशिक विशेषज्ञ अस्पताल, जसबाट हाम्रो पचासौं लाख मानिसले मात्रै लाभ नलिएर छिमेकी प्रदेशकाले पनि लाभ लिन मिल्ने गरी हामीले अर्को गौरवको योजना बनायौं। अर्को, लुम्बिनी प्राविधिक विश्वविद्यालय, जो नेपालगञ्जमा छ। त्यो स्थापित गरिएको छ।’

मुख्यमन्त्री केसीले प्रदेशसभा भवन निर्माणको काम पनि सकिएको र आगामी प्रदेशसभाको बैठक पनि देउखुरीमा गरिने बताए। उनले केही दिनभित्रै मन्त्रालयहरूका सबै काम पनि राजधानी देउखुरीबाटै हुने बताए। मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशको राजधानी सबैलाई पायक पर्ने भएकाले दाङको देउखुरीलाई चयन गरिएको दोहोर्‍याए।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation