चिसो मौसमका कारण रुपन्देहीमा श्वासप्रश्वासका बिरामी बढ्दै

लुम्बिनी । चिसो मौसम र वायु प्रदूषणले रुपन्देहीमा श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । रुपन्देहीका सरकारी तथा निजी अस्पतालमा उपचार गर्न आउनेमध्ये अधिकांश बिरामीमा फोक्सोको समस्या देखिन थालेको चिकित्सकले बताएका छन् ।

‘अस्पतालमा आउनेमध्ये एक तिहाईमा श्वासप्रश्वासको समस्या छ,’ लुम्बिनी प्रादेशिक अस्पतालका जनरल फिजिसियन डा। नन्दु पाठकले भने, ‘शरीरमा चाहिने शुद्ध हावा अक्सिजन लिने र अशुद्ध हावा कार्बनडाइअक्साइड फयाँक्ने महत्त्वपूर्ण अंग फोक्सोको ख्याल राख्नुपर्ने हुन्छ ।’ फोक्सोमा समस्या आउनुभन्दा पहिले सचेत हुनुपर्ने उनको सुझाव छ ।

सुख्खा खोकी लाग्ने, घ्यारघ्यार हुने लक्षण लिएर आउनेको संख्या हृवात्तै बढेको उनले बताए । डेंगुको समस्या कम भएसँगै अस्पतालमा ज्वरो नआएका दम र खोकीका बिरामी बढेको उनले बताए । वातावरण प्रदूषणका मुख्य कारण निर्माण, उद्योग, सवारी र पराल जलाउने जस्ता कारणले हुने भन्दै यसबाट जोगिन धुलोधुवाँमा हिँड्दा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने उनी बताउँछन् ।

सुरक्षाका लागि गुणस्तरीय मास्क लगाउन उनको सुझाव छ । कोभिड–१९ संक्रमणकालपछि मानिसमा मास्क लगाउने सचेतना बढे पनि सही रूपमा प्रयोग नभएको उनले बताए । लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक बिरामी थपिनेको संख्या बढिरहेको उनको भनाइ छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation