रुपन्देहीको सालझण्डीमा नेपाली र भारतीय सेनाको संयुक्त अभ्यास सुरू

बुटवल । नेपाली सेना र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास शुक्रबारदेखि रुपन्देहीको सैनामैनामा सुरु भएको छ । सैनामैनास्थित नेपाली सैनिक व्याट्ल स्कुलमा मध्य पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी याम प्रसाद ढकालले एक कार्यक्रमका बीच सैन्य अभ्यासको शुभारम्भ गरेका हुन् ।

विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश गरी संचालन भएको उक्त संयुक्त अभ्यासको यो १६ औं संस्करण भएको नेपाली सेनाले जनाएको छ । सैन्य अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमल कुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना सहभागी छन् । उक्त अभ्यास पुस १४ गते सम्पन्न हुने छ ।

यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सूर्य किरणको पन्ध्रौं संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो । वि.सं. २०६७ सालबाट नेपाल र भारतमा वार्षिक रुपमा आलोपालो गरि सञ्चालन हुँदै आएको यस संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी १५ पटक सफलतापूर्वक सञ्चालन भई सकेको सेनाले जनाएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation