मोरक्कोलाई २–१ गोलले हराउँदै क्रोएसिया तेस्रो

काठमाडौं । क्रोएसिया फिफा विश्वकप २०२२ मा तेस्रो भएको छ। शनिबार कतारको खालिफा अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा अफ्रिकन टिम मोरक्कोलाई २–१ गोलले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो।

खेलको सातौं मिनेटमा क्रोएसिया खेलमा अग्रता लिएको थियो। क्रोएसियाका लागि जोस्को ग्भार्डिओलले गोल गरेका थिए। दुई मिनेटपछि नै मोरक्कोले बराबरी गोल फर्कायो। अर्चरफ डारीले क्रोएसियाका लागि नौं मिनेटमा बराबरी गोल गरेका थिए।

४२ मिनेटमा क्रोएसियाले खेलमा दोस्रो पटक अग्रता लियो। मिस्ला ओरसिकले डिबक्स बाहिरबाट हानेको प्रहारलाई मोरक्कोका गोलकिपरले ठम्याउन सकेनन्।

विश्वकपमा क्रोएसिया गत संस्करणमा उपविजेता बनेको थियो। मोरक्कोको भने यो अहिलेसम्मकै उत्कृष्ट नजिता हो। यस्तै मोरक्कोले सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन र अरब टिमको रेकर्ड समेत बनाएको थियो।

अघिल्लो संस्करणको फाइनलिस्ट क्रोएसियाले तेस्रो स्थानको उपाधिसहित २७ मिलियन डलर अर्थात करिब ३ अर्ब ४९ करोड ८६ लाख ६० हजार रूपैयाँ जितेको छ। यस्तै चौथो भएको मोरक्कोले २५ मिलियन डलर अर्थात करिब ३ अर्ब २३ करोड ९५ लाख रूपैयाँ पाएका छन्।

 

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation