अर्घाखाँचीको एउटै गाउँबाट पाँच करोड रुपियाँको सुन्तला बिक्री

अर्घाखाँची  । अर्घाखाँचीको एउटै गाउँबाट पाँच करोड रुपियाँको सुन्तला बिक्री भएको छ । जिल्लाको मुख्य सुन्तला उत्पादन हुने पाणिनी गाउँपालिका —१ सिम्लेका पटौटी, निगाली देउराली, पोखराथोक लगायतका टोलबाट यसवर्ष सो रकम बरावरको सुन्तला बिक्री भएको हो ।

एउटा गाउँ सिम्लेबाट मात्रै पाँच करोडको सुन्तला व्यापारीले खरिद गरेका छन् । पाणिनी गाउँपालिका —१ सिम्ले गाउँका किसानले ३ लाखदेखि २८ लाख रुपियाँसम्म आम्दानी गरेका छन् । यहाँका ४९ घरका किसान व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन् । यहाँका कृषकले सुन्तला बेचेर जीवनस्तर सुधार गरेका छन् ।

किसान रेवतीराज पौडेलले आफ्नो बारीमा ५ सय ५५ बोट सुन्तलाबाट २ सय ५० क्विन्टलभन्दा बढी सुन्तला फलेको बताउनुभयो । यस वर्ष सुन्तला बिक्रीबाट २५ देखि २८ लाख आम्दानी हुने उहाँले बताउनुभयो । यहाँका किसानले सुन्तला बेचेर कम्तीमा ३ लाखदेखि २० लाख रुपियाँसम्म आम्दानी गर्नेगरेको उहाँले बताउनुभयो ।

किसान दधिराम गौतमले बारीमा ५ सय ६५ बोट सुन्तलाबाट गत वर्ष ९ लाख रुपियाँ आम्दानी गरेको बताउनुभयो । यस वर्ष सुन्तला बढी फलेकाले १४ लाख रुपियाँ आम्दानी हुने अपेक्षा गरेको बताउनुभयो । विगतका वर्षमा यहाँ उत्पादन भएका सुन्तला प्रतिकेजी ६० रुपियाँदेखि ६५ रुपियाँमा बुटवल, तानसेन र भैरहवाको बजारमा बिक्री गर्नेगरेको उहाँले जानकारी दिनुभयो । बजारमा अहिले १ सय रुपियाँदेखि १ सय ५० रुपियाँसम्ममा सुन्तला बिक्री भइरहेको छ ।

यस वर्ष पाणिनीको पोखराथोकमा शीत भण्डार बनाएपछि किसानले शीत भण्डारमा भण्डारण गरेका छन् । अहिले मौसमी रूपमा सस्तो मूल्यमा बेच्नुभन्दा शीत भण्डारमा अर्थात् कोल्ड स्टोरमा राखेर बैमौसमी समयमा महँगो दरमा सुन्तला बिक्री हुने भएपछि यहाँका किसान खुसी भएको अगुवा किसान चिरञ्जीवी पौडेलले बताउनुभयो ।

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation