प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले शपथ लिए, लाेगाे पनि लगाए

काठमाण्डाै । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले आज बिहीवार पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेका छन् । सङ्घीय संसद् भवनको हल नयाँ बानेश्वरमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्सेर जबराले सांसदहरूलाई शपथ गराउनुभएको हो ।

केही सांसदले ईश्वरको नाममा र केहीले जनताको नाममा शपथ लिएका छन् । २६ जना सांसदले मातृभाषामा सफथ लिएका छन् भने अरूले नेपाली भाषाको प्रयोग गरेका छन् । शपथसँगै सङ्घीय संसद् सचिवालयले सांसदको लाेगो पनि वितरण गरेको छ ।

शपथ ग्रहणका लागि सांसदहरू आ–आफ्नो जातीय पहिचान झल्किने पोसाक लगाएर संसद् भवनमा पुगेका थिए । थरीथरीका पोसाक र भेषभुषामा सांसदहरूको उपस्थितिले संसद् भवन नयाँ बानेश्वको दृष्य निकै रमाइलो देखिएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो बुधवार प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबरालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो । जबराले प्रतिनिधि सभाका अरू नवनिर्वाचित सासंदलाई शपथ ग्रहण गराउने जिम्मेवारी पाउनुभएको हो ।

प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक प्रणालीबाट निर्वाचित एक सय १० गरी दुई सय ७५ जना सांसद छन् । शपथ समारोह अगाडि संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले नवनिर्वाचित सांसदहरूलाई स्वागत, बधाई एवम् शुभकामना व्यक्त गर्नुभएको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation