मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको छ : राष्ट्रपति भण्डारी

बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताएकी छन् । उनले व्यापार घाटा बढिरहेको, आयात नियन्त्रण नभै झनै बिस्तार भएको र मुद्रा सन्चितीमा अभूतपुर्व चाप परेको भन्दै अर्थतन्त्र गम्भीर चुनौतीको अवस्थामा रहेको बताइन् ।

मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन आयात प्रतिस्थापन गर्ने खालका वन पैदावार र जडिबुटीजन्य उद्योग स्थापनामा जोड दिनुपर्ने र निर्यात बढाउनुपर्ने उनको भनाई छ । “अब जडिबुटीजन्य एवं वन पैदावारमा आधारित उद्योग स्थापनातर्फ केन्द्रित हुन र निर्यात बढाउने दिशामा लाग्न म सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छु”(उनले भनिन् ।

रुपन्देही उद्योग संघ, लुम्बिनी उद्योग परिसंघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा बिहीबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि एवं पर्यटन महोत्सवको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले खेतीयोग्य जमिन बाँझो नराख्नका लागि युवा जनशक्तिलाई कृषि क्षेत्रमा लगाउनुपर्ने र कृषिजन्य उत्पादनलाई बढाउन सके व्यापार घाटा कम गर्न सकिने बताइन् ।

राष्ट्रपति भण्डारीले भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइन् । “विमानस्थललाई व्यवस्थित रुपले सञ्चालन गर्न सके यस क्षेत्रको औद्योगिक विकास सँगै पर्यटन क्षेत्रको विकासले पनि गति लिन्छ, यसका लागि सम्बन्धित निकायले तदारुकता देखाउन जरुरी छ”–उनले भनिन् ।

राष्ट्रपति भण्डारीले राज्यको ढुकुटीमा आफ्नो परिश्रमबाट कर तिर्ने उद्यमी र किसानले सेवा प्राप्त गरुन् भन्नेतर्फ ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराइन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation