सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु

सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालगञ्ज–सुर्खेत सडक खण्डअन्तर्गत भेरीगंगा नगरपालिकाको सत्तरीबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०१०२६ च ९२१३ नम्बरको हाईलक्स गाडी दुर्घटनामा परेको हो।

वीरेन्द्रनगर पुग्नुभन्दा करिब ६ किलोमिटर वर झुप्रानजिक गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

दुर्घटनामा परेर दैलेखको डुंगेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय नविन शाही, गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी र ठेगाना नखुलेका करिब २७ वर्षीय सागर शाहीको मृत्यु भएको छ।

दुर्घटनामा दैलेखको भैरवी गाउँपालिका–५ का २५ वर्षीय वीरेन्द्रराज शाही घाइते भएका छन्। उनको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था मध्यम रहेको छ।

गाडी सडकबाट करिब ७० मिटर तल खसेको थियो। गए राति साढे २ बजे दुर्घटनाको खबर प्रहरीलाई आएको कार्कीले बताए। ‘घाइतेका अनुसार गाडी अनियन्त्रित भएर दुर्घटना भएको भन्ने छ, खास कारण भने खुलिसकेको छैन,’ उनले भने।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation