कठिन परिस्थितिमा पनि हिन्दु राष्ट्रको पक्षमा उभिएँ : उपप्रधानमन्त्री लिङ्देन

लुम्बिनी । उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्र लिङ्देनले आफू अप्ठ्यारो एवम् कष्टकर दिनहरूमा पनि नेपाल हिन्दु राष्ट्र कायमै हुनुपर्छ भनेर उभिएको बुताउनुभएको छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिका –४ स्थित नवदुर्गा मन्दिर क्षेत्रमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा बिहीबार उहाँले गुरु पण्डितहरूले समेत बोल्न नसकेको बेला नेपाल हिन्दु राष्ट्र कायमै हुनुपर्छ भनेर आफू उभिएको बताउनुभयो । हिन्दुत्वसँग सम्बन्धित कार्यक्रमहरू आफ्नै कार्यक्रमजस्तो लाग्ने पनि उहाँको भनाइ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष समेत रहनुभएका लिङ्देनले धार्मिक कार्यक्रममा सहभागी हुन पाउँदा आफू आनन्दित हुने बताउँदै नेपालको ऐतिहासिक जगद्गुरु पीठ निर्माण भएपश्चात् यो क्षेत्रको धार्मिक पर्यटन प्रवर्धनमा योगदान पुग्ने दाबी गर्नुभयो ।

उहाँले जगद्गुरु पीठ निर्माणका लागि सरकारबाट हुने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै पवित्र मनले सहयोग गर्न समेत अपिल गर्नुभयो । उपप्रधानमन्त्री लिङ्देनले लुम्बिनी क्षेत्र आफैमा धार्मिक पर्यटनको महत्त्वपूर्ण क्षेत्र भएको र जगद्गुरु पीठ निर्माणले धर्म संस्कृतिको संरक्षण र धार्मिक पर्यटनमा समेत टेवा पुग्ने बताउनुभयो ।

जगद्गुरु मोहनशरण देवाचार्यले नेपाललाई हिन्दु राष्ट्र कायम गर्न सबै आ–आफ्नो क्षेत्रबाट अघि बढ्नुपर्ने बताउनुभयो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation