कुनै पनि नागरिकले खानेपानीबाट बन्चित हुन नपरोस् : मन्त्री खान

नेपालगञ्ज। नेपाल सरकारका खानेपानी मन्त्री अब्दुल खानले कुनै पनि नागरिकले खानेपानीबाट बन्चित हुन नपरोस् भन्ने अवस्थाको सिर्जना गर्ने सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभयो।

बाँके जिल्लाको भ्रमणमा रहनुभएका मन्त्री खानले आइतबार डुडुवाको राप्ती नदीको सिधनियाघाटमा निर्माण गरिएको राप्ती खानेपानी आयोजनाको सम्पवेल लगायत आयोजनाको निरीक्षण गर्दै सो बताउनुभएको हो।

उहाँले पहाडी जिल्लामा मात्र नभै तराईका विभिन्न जिल्लामा पनि अझै धेरै जना नागरिकले सहज र सुलभ रुपमा खानेपानी नपाइरहेको अवस्था रहेको बताउनुभयो। सरकारले सबैलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्याउन विभिन्न योजना र कार्यक्रम बनाउने मन्त्री खानको भनाइ थियो।

नेपाल खानेपानी संस्थान बाँके शाखाका प्रमुख हरिकुमार श्रेष्ठले मन्त्री खानले आयोजनाको मुल स्थानमा पुगेर जग्गा सम्बन्धी समस्यालाई राम्ररी बुझ्नु भएकोले अब छिट्टै सो समस्या समाधान गरेर आयोजनाको काम पुरा हुने बताउनुभयो।

जग्गा अधिग्रहण र खरिद प्रक्रियालाई मन्त्रिपरिषदमा राख्ने र समस्या समाधान गराउने आश्वासन मन्त्री खानले दिनुभएको खानेपानी संस्थान बाँके शाखाका प्रमुख श्रेष्ठले बताउनुभयो।

सो अवसरमा मन्त्री खानले बाँके जिल्लाका सबै खानेपानी योजनालाई तत्काल पुरा गर्न निर्देशन दिनुभएको छ। नेपालगञ्ज उपमहानगर भित्रको खानेपानी अभावको समस्या समाधानका लागि ६ वर्षअघि सुरु गरिएको राप्ती खानेपानी आयोजनाको ९० प्रतिशत निर्माण सम्पन्न भएको खानेपानी संस्थान बाँके शाखाले जनाएको छ।

डुडुवाको सिधनियाघाटस्थित राप्ती नदीबाट १६ किलोमिटर पाइप बिछ्याएर  खानेपानी नेपालगञ्ज पुर्याउने सो आयोजना अन्तर्गत पाइप बिछ्याउने कार्य सम्पन्न भइसकेको र बाँकी रहेको काम पनि छिटै पुरा गरिने जनाएको छ।

दुई दिनदेखि बाँकेको भ्रमणमा रहनु भएका मन्त्री खानले विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै खानेपानीका विभिन्न निर्माणाधीन योजनाको निरीक्षणसँगै हालको अवस्थाको बारेमा पनि जानकारी लिनुभएको छ।

-गोरखापत्र अनलाइन बाट 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation