सत्ता नपाएर कांग्रेस पानीबिनाको माछा जसरी छट्पटायो : ओली

काठमाडौं  ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पानी बिनाको माछा जसरी छट्पटाइरहेको बताएका छन्।

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सत्ता गुमाएको कांग्रेस पानी बिनाको माछा जसरी छट्पटाइरहेको बताएका हुन्।

‘सदनमा कांग्रेसका व्इवहार संविधान र लोकतन्त्रका लागि बुझिनसक्नुका छन्। कांग्रेसका केही साथीहरूलाई आफ्नो परिचय प्रतिपक्ष भनेर मान्न सकस भइरहेको छ। मन मानिरहेको छैन्। तर, प्रतिपक्षमा बस्नैपर्ने बाध्यता पनि बनिरहेको छ।

यतिबेला कांग्रेस पानी बिनाको माछा जसरी छट्पटाएर बसेको छ,’ उनले भने। ओलीले यसो भनिरहँदा सभापति शेरबहादुर देउवा, महामन्त्री विश्वप्रकाश शर्मालगायतका कांग्रेस सांसदहरु मुसुमुसु हाँसिरहेका थिए।

अध्यक्ष ओलीले कांग्रेस सत्ताबाहिर आफ्नो अस्तित्व आफैँ विश्वास गर्न नसक्ने अवस्थामा पुगेको बताए। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २०५२, ०५८ र ०७२ सालका घटना क्रमहरूबाट अनुभव बटुलेकाले राष्ट्रलाई अस्थीरतातर्फ धकेल्ने चिन्तनतर्फ नलाग्न आग्रह गरे। अध्यक्ष ओलीले स्वस्थानीको जालन्धर जस्तो नबन्न देउवालाई आग्रह गरे।

‘सत्ताबाहिर रहँदा सत्तामा विग्रह रहने र अल्पकालीन लाभ लिने अनुभव कांग्रेसका साथीहरूसँग राम्रौ छ। मेरा मित्र हामी बृहत्तर हितमा काम गरौँ। राजनीतिक स्थिरताका लागि काम गरौं। कोही पनि जालन्धर नबनौं। स्वस्थानीको सिजन छ। २०५२, ०५८ र ०७२ सालका अनुभव हामीसँग राम्रै छन्। अब राष्ट्रलाई अस्थीरतातर्फ धकेल्ने चिन्ततर्फ कसैको हित हुँदैन। हित हुन्छ धमिलो पानीमा माछा मार्नेहरुको। जनता सचेत भइसकेका छन्,’ उनले भने।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation