
संघले स्टल बुकिङ खुल्ला गर्दै आफुले उत्पादन गरेका समाग्री तथा वस्तुहरु प्रदर्शन गर्न, खानाको परिकार राख्न स्टल लिन इच्छुक सम्पूर्ण व्यापारी,व्यवसायी तथा उद्योगीका लागि स्टल बुकिङ्ग गर्न खुल्ला गरेको हो । आउदो फागुन १७ गतेदेखि सञ्चालन हुने ब्यापार महोत्सवका लागि स्टल बुकिङ्ग कार्यक्रम सुरु भएको हो ।
बुद्धकालीन महत्वको सैनामैनालाई चिनाउने र कृषि, पर्यटनका क्षेत्रमा रहेका सम्भावनालाई साकार पार्ने उद्देश्यसहित आयोजना गर्न लागिएको महोत्सवमा २ सय स्टल रहने स्टल संयोजक देवीदत्त सुबेदीले जानकारी दिनुभयो । उहाँले स्टलका लागि साधारण स्टल र होटल स्टल गरि दुई भागमा विभाजन गरिएको र स्टलका लागि नियमअनुसारको आवेदन फारम भर्नुपर्ने बताउनुभयो ।
साधारण स्टलका लागि रु.१७ हजार र होटल स्टलका लागि रु.३० हजार तोकिएको छ भने स्थानीय व्यापारीलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यस्तै संघमा आवद्द व्यापारीलाई भने १५ प्रतिशत छुट गरिएको छ ।
शिक्षा, कृषि, पर्यटन, उद्योग र व्यापारका क्षेत्रमा तयार पारिएका आधारशीलाको कार्यान्वयन गर्दै समृद्ध सैनामैना निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउने उद्देश्यले संघ केन्द्रित रहेको सैनामैना व्यापार संघका कार्यवाहक अध्यक्ष तथा महोत्सव आयोजक मूल समितिका संयोजक सुरेन्द्र पौडेलले जानकारी बताउनुभयो ।
सैनामैना व्यापार संघको आयोजनामा हुने पाँचौं सैनामैना महोत्वसका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । सुरेन्द्र पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति र अरु विषयगत उपसमितिहरु गठन भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सैनामैना २ स्थित ग्लोबल पार्टी प्यालेसको परिसरमा रहेको खुला स्थानमा फागुन २८ गते सम्म महोत्सव सञ्चालन हुनेछ ।