
रूपन्देही । लुम्बिनी प्रदेशमा मन्त्री हेरफेरको तयारी भइरहेको छ । मुख्यमन्त्री लीला गिरीले जनता समादवादी पार्टी (जसपा)लाई सरकारमा सहभागी गराउने गरी मन्त्री हेरफेर गर्न लागेका हुन् ।
मुख्यमन्त्री निकट स्रोतका अनुसार नेकपा एमालेका एक मन्त्रीलाई बिनाविभागीय बनाएर जसपालाई मन्त्री दिन लागिएको छ । यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिएको थियो । त्यसमध्येबाटै जसपा सरकारमा आएको अवस्थामा एमालेले लिएको मन्त्रालयबाटै दिने भन्ने सहमति गरिएको थियो । त्यहीअनुसार मुख्यमन्त्री गिरीले एमालेका कृषि तथा भूमि व्यव मन्त्री तुलसीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमै राखेर जसपा संसदीय दलका नेता भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्थामन्त्री बनाउन लागिएको हो ।
मुख्यमन्त्री गिरीसँगै पुस २८ मा बिनाविभागीय मन्त्रीको शपथ लिएकी केसीलाई माघ २८ मा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । उनले जिम्मेवारी अस्वीकार गर्दै पदवहाली गरेकी छैनन् ।
सत्ता गठबन्धन दलको सहमतिअनुसार जसपालाई सरकारमा ल्याउन लागिएको सरकारका प्रवक्ता एवं मन्त्री चेतनारायण आचार्यले बताए । मन्त्री आचार्यका अनुसार जसपाका संसदीय दलका नेता अहिरलाई सोमबार प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा शपथ ग्रहणको तयारी भइरहेको प्रदेश प्रमुखका प्रेस संयोजक गुनाराम घिमिरेले बताए ।