
बुटवल । सेवाग्राहीको सुविधाका लागि भन्दै बुटवलको बसपार्क क्षेत्रमा नि:शुल्क वाइफाई र इन्टरनेट जडान गरिएको छ ।
बसपार्कलाई सुविधासम्पन्न बनाउने अभियान अन्तर्गत बुटवल उपमहानगरपालिकाले बसपार्क क्षेत्रमा नि:शुल्क वाइफाई इन्टरनेट सुविधा उपलब्ध गराएको हो ।
बसपार्कलाई यात्रुहरुको विश्रामस्थलका रुपमा सञ्चालन हुने गरी अन्य सुविधाहरु समेत थप गर्दै जाने उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।
बसपार्कमा सुविधायुक्त शौचालय, खानेपानीको व्यवस्था र स्नान कक्ष पनि बनाइएको छ । नि:शुल्क वाइफाई र इन्टरनेटसमेत नि:शुल्क भएपछि बसपार्क क्षेत्र सुविधा सम्पन्न हुने नगरप्रमुखले बताए ।
उनले भने, ‘छिट्टै नै विश्रामस्थलहरु बनाएर यहाँ उच्च क्षमताका लाइटहरु जडान गर्ने कामको सुरुवात हुनेछ, यसले बसपार्कलाई सुरक्षित र सुविधासम्पन्न बनाउनेछ, जसले बस चढ्न र ओर्लिन आउनेहरु विश्राम गर्न अन्यत्र जानुपर्ने बाध्यता हट्नेछ ।’ बसपार्कमा बहुउद्देश्यीय टर्मिनल भवनसमेत छ ।