प्राचीन कपिलवस्तुको विकासका लागि अलग्गै विकास कोषको माग

रुपन्देही । लुम्बिनी विकाश कोषको मातहतमा रहँदा प्राचीन कपिलवस्तुको विकासले गति लिन नसकेको भन्दै जिल्लामा छुट्टै विकास कोषको माग हुन थालेको छ ।

कपिलवस्तु गौतम बुद्धले २९ वर्ष बिताएको स्थल हो भने, यहीँ नै कक्रुछन्द र कनकमुनी बुद्धको जन्मस्थल हो । प्राचीन संग्रालयका रूपमा कपिलवस्तु लुम्बिनीको ओझेलमा परेको भन्दै त्यसको समग्र विकासमा लागि छुट्टै विकास कोष गठनको मागबारे बहस हुन थालेको हो ।

केही समयअघि कपिलवस्तु पर्यटन विकास समितिको आयोजनामा यस्तो बहसको थालनी भएको छ । बुद्धसँग सम्बन्धित विभिन्न विषयमा अध्ययन गरिरहेका पुरातत्वविद, बौद्ध दर्शनका विज्ञ र तथा साहित्यकारले यहाँको विकासका लागि यस्तो माग गरेका हुन् ।

अहिलेसम्म लुम्बिनी विकास कोषले नै कपिलवस्तुको बुद्ध सम्पदा क्षेत्रको सबै जिम्मेवारी लिएको छ । यहाँको तिलौराकोट, धमनीया स्तुप निगालीकोट, सगराहवा, गोटिहवा, कुदान र सिसहनीया कोट बुद्ध सर्किटलाई लुम्बिनी विकास कोषले हेर्ने गरेको छ । तर कोषले लुम्बिनीमा मात्र ध्यान दिँदा कपिलवस्तु ओझेलमा पारेको गुनासो सरोकारवालाको छ ।

वरिष्ठ पुरातत्वविद् एवम् लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रा.डा. वसन्त विडारीले सिंगो कपिलवस्तु नै पुरातात्त्विक र अनौठो जिल्ला भएको र प्राचीन कपिलवस्तुको समग्र विकासका लागि कपिलवस्तु विकास कोष गठन आवश्यक रहेको बताएका छन् ।

राजनीतिक प्रतिबद्धता नभएका कारण अहिलेसम्म कपिलवस्तुको विकास नहुन सकेको भन्दै उनले प्रतिबद्धतासहित कपिलवस्तु विकास कोष गठनको माग पनि गरेका छन् ।

जिल्लाबाट केन्द्र तथा प्रदेशमा प्रतिनिधित्व गर्ने सांसद, स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरी प्रतिबद्धता लिनुपर्ने उनको भनाइ छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका पुरातत्त्व संकायका कार्यक्रम संयोजक उपप्राध्यापक गुनाखर गैरले प्राचीन स्थलले भरिभराउ रहेको कपिलवस्तुको विकासलाई अलग्गै विकास कोष अति आवश्यक रहेको बताएका छन् ।

भारतले नक्कली कपिलवस्तु खडा गरेर व्यापक प्रचार प्रसार गरी रहेको बेला कपिलवस्तु भने ओझेलमा परको भन्दै अब कपिलवस्तु विकास कोष गठन गर्न ढिलाइ गर्न नहुने उनको भनाइ छ ।

स्थानीय पोमनारायण पौडेलले २० वर्षअघि पनि प्राचीन कपिलवस्तु विकास समिति गठनका लागि प्रक्रिया अघि बढाएपनि दलका नेताहरूको बेवास्ताका कारण मूर्तरूप लिन नसकेको बताएका छन् ।

अधिकारकर्मी रवि ठाकुरले कपिलवस्तु विकास कोषको गठनकालागि साझा प्रयास आवश्यक रहेको बताउँदै सो सवाललाई वडा स्तरमा लगेर उठान गर्न सुझाव दिएका थिए ।

कपिलवस्तु विकास कोष गठनका लागि सम्भाव्यता अध्ययन गर्न समितिका अध्यक्ष हरिशचन्द्र खनालको संयोजकत्वमा ९ सदस्यीय अध्ययन प्रतिवेदन समिति गठन गरिएको छ ।

जसको सदस्यमा गीता अन्जान, रामअचल यादव, चर्तुभुज पाण्डेय, पोमनारायण पौडेल, रवि ठाकुर, युवराज केसी, नारद कोहार तथा वशिष्ठ तिवारी रहेका छन् ।

कपिलवस्तुमा सयौँ पुरातात्त्विक सम्पदाहरू हुँदाहुँदै पनि पर्यटकीय स्थलको विकास हुन नसकेको स्वीकार गर्दै यसका लागि कपिलवस्तुको बृहत्तर विकासका लागि कपिलवस्तु विकास कोष नै गठन गर्न सबै एकजुट भएर अगाडि बढ्नुपर्ने निष्कर्ष निकालिएको छ ।

उनीहरूले अब दोस्रो चरणमा सर्वदलीय बैठक बोलाउने र तेस्रो चरणमा संघीय तथा प्रदेश सांसद, कपिलवस्तु जिल्लाका १० वटै स्थानीय तहका प्रमुख, सम्बन्धित क्षेत्रका विद्धान, विज्ञलगायत सरोकारवालाको उपस्थितिमा छलफल गर्ने योजना बनाएका छन् ।

यी चरणको छलफलपश्चात् कपिलवस्तु विकास कोष गठनका लागि संकल्प प्रस्ताव पारित गर्ने गरी काम अगाडि बढाइने योजना समितिले बनाएको छ । – नेपाल प्रेस 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation