रुपन्देही सालझण्डी किशोरी मृत्यु प्रकरणः झारफुक गर्ने माता सहित १७ जना पक्राउ

उपकार अनलाइन, सैनामैना ।
रुपन्देही प्रहरीले सैनामैनामा झारफुकको बहानामा कुटपिट गर्दा १४ वर्षीया सिता ज्ञवालीको मृत्यु प्रकरणमा १७ जनालाई पकाउ गरेको छ।

प्रहरीले यसअघि नै बालिकाको हत्यामा संलग्न भएको आरोपमा झारफुक गर्ने महिला सैनामैना वडा नं १० बस्ने २२ वर्षीया सोनिया रेश्मीलाई इलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेर अनुसन्धान थाली सकेको थियो।

घटनाको सम्बन्धमा सुक्ष्म रुपमा अनुसन्धान भइरहेको र हाल सम्म उक्त घटनामा संलग्न १७ जनालाई पक्राउ गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रहरी प्रवक्ता दिपक कुवरले बताए ।

सामाजिक सञ्जाल फेसबुकमा आइतबार महिलाले झारफुक गरी बिरामीलाई सन्चो बनाउँछु भन्दै एक बालिकालाई भुइँमा लडाई घोप्टो पारी कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो ।

माताले बालिकाको शरीरमाथि चढी घण्टी बजाउँदै गालामा थप्पड हान्ने, आइज, देखिस्, कति खान्छस्, मेरो पावर देखिस् भन्दै रुद्राक्षको मालाले शरीरको विभिन्न भागमा हान्ने, भुइँमा लडाउने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, पटकपटक जगले नाकमुखमा पानी खन्याउने, कपालमा समाई टाउको बटारी दिने गरेकी थिइन् ।

त्यस्तै, कपालमा समाइ अनुहारको भागमा थुक्ने, खरानी खुवाइदिने र लछारपछार पारी कुटपिटसमेत गरेको भिडिओमा देखिएको छ । उक्त भिडिओका आधारमा प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो। इलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमान्डमा खटिएको प्रहरीले मातालाई पक्राउ गरेको थियो।

त्यसपछि प्रहरीले मृतक सिता ज्ञवालीको घर परिवारसँग सोधपुछका लागि पुगेको थियो। परिवारसँग बुझ्दा विगत ४/५ दिनदेखि सिता कानसम्बन्धी बिरामी भएकी, पटक पटक अस्पताल लगि चेकजाँच गरी औषधि सेवन गर्दा निको नभएको हुँदा माता भन्ने सोनिया रेश्मीले झारफुक गरी ठिक पार्छिन भन्ने थाहा पाई उनको घरमा लगेको कुरा अनुसन्धानबाट खुलेको हो।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation